देशभरका सात होल्डिङ सेन्टर प्रयोगविहीन

देशभरका सात होल्डिङ सेन्टर प्रयोगविहीन

काठमाण्डौँ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरेका देशभरका सात होल्डिङ सेन्टर प्रयोगविहीन बनेका छन् ।

नेपाली सेनाले दुई अर्ब १६ लाख ३५ हजारको लगानीमा होल्डिङ सेन्टर निर्माण गरेको थियो । तर, कोभिड–१९ कै बेलासमेत ती सेन्टर प्रयोगमा आउन सकेका थिएनन् । कोभिडको तेस्रो लहरका बेला सेन्टर निर्माणाधीन थिए । भारतबाट आउने नेपाली तथा भारतीय नागरिकलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण गर्नेसहितका सुविधा दिने उद्देश्य थियो । 

सरकारले झापा, मोरङ, पर्सा, कपिलबस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा सातवटा सेन्टर स्थापना गरेको छ । सातवटा होल्डिङ सेन्टरको क्षमता एक हजार बेड रहेको छ ।

महालेखा परीक्षकको कार्यालयको ६०औँ प्रतिवेदनमा ती सेन्टर प्रयोगविहीन भएको उल्लेख छ । यस्ता सेन्टरलाई विपद् व्यवस्थापनमा प्रयोग गर्न सकिने महालेखाले सरकारलाई सुझाव दिएको छ । 

झापाको मेचीनगर र मोरङको विराटनगरमा अवस्थित सेन्टरको टोलीले सरकारी अधिकारीले समेत निरीक्षण गरेका थिए । गठबन्धनका तत्कालीन मुख्यमन्त्री राजेन्द्र राई विराटनगरस्थित सेन्टर हेर्न पुगेका थिए । यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की झापाको दुआगढी पुगेका थिए । सेन्टरहरूमा आपूर्ति गरिएका अक्सिजन आपूर्तिलगायत उपकरणको उचित प्रयोग गर्न सकिनेतर्फसमेत महालेखाले सरकारको ध्यानाकर्षण गराएको छ । 

संघीय सरकारको २२ करोड बजेटमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ को दुआगढीस्थित हडिया खोलाको उकास जमिनमा हनुमान कन्ट्रक्सन्सले सेन्टर निर्माण गरेको थियो । तेस्रो लहरका बेलासमेत निर्माण सम्पन्न नभएको सेन्टर त्ययतासमेत एकपटक पनि प्रयोगमा भने आएन ।

दुआगढीमा २२ वटा ब्लकमध्ये २० क्वारेन्टाइन, २ प्रशासन, १२ डायनिङ हल, २ प्रशासनिक किचन र एक सेन्ट्रल किचन रहेका छन् ।