धमाधम पाठ्यक्रम परिवर्तन गर्दै संस्थागत विद्यालय

धमाधम पाठ्यक्रम परिवर्तन गर्दै संस्थागत विद्यालय

धनगढी । ‘नगर शिक्षा ऐन २०७४ (संशोधनसहित) मा संस्थागत विद्यालयका हकमा देहाएका व्यवस्थाहरु उल्लेख भएको तर, अधिकास विद्यालयहरुमा उक्त व्यवस्था कार्यान्वयन नभएको पाइएकाले अनिवार्य कार्यान्वयन गर्न, गराउने व्यवस्था मिलाउन हुन’ धनगढी उपमहानगरपालिकाले फागुन ४ गतेनै सूचना जारी गरेको थियो । उपमहानगरपालिकाले जारी गरेको सूचना विपरित धनगढीका विद्यालयहरुले पुस्तक पसलहरुमा पाठ्यपुस्तकका प्रकाशन परिवर्तन गरि पुस्तक पसललाई सूचि पठाएको पाइएको छ ।

‘संस्थागत विद्यालयले एउटा शैक्षिक सत्रमा लागु गरेको एउटा प्रकाशनको पाठ्यपुस्तक कम्तिमा पाँच शैक्षिक सत्रसम्म परिवर्तन गर्न पाईने छैन’ उपमहानगरपालिकाले संशोधन गरि जारी गरेको ऐनमा भनिएको छ । उपमहानगरपालिकाले जारी गरेको ऐन २०७४ को कार्यान्वयन गर्ने वा २०७९ को भन्नेमा उपमहानगरपालिकामा सञ्चालित विद्यालयमा अन्यौलता रहेको छ । तर, हरेक वर्ष पुस्तक प्रकाशन परिवर्तन गर्दै आएका विद्यालयहरुले यस वर्ष पाठ्यक्रम परिवर्तन गर्न नहुने सरोकारवालाहरु बताउँछन् ।

धनगढीका एक पुस्तक व्यवसायी भन्छन् –‘विद्यालयलाई जुन प्रकाशनले राम्रो लगानी गर्न सक्छ, त्यसैको प्रकाशन अर्को वर्षमा सूचिमा समावेश हुन्छ । विशेषतः कक्षा ८ देखि १० सम्मका पाठ्यपुस्तकको प्रकाशन हरेक वर्ष परिवर्तन भईरहन्छ ।’

नयाँ शैक्षिकसत्र सुरु भएसंगै विद्यालयहरुले पुस्तक पसलमा प्रकाशनसंगको मिलोमतो अनुसार प्रकाशन पाठ्यक्रमको सूचि पठाईरहेका छन् । 

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको लगानीमा संचालनमा रहेको बाल्मीकि विद्यालयले हरेक वर्ष प्रकाशन परिवर्तन गर्दै आईरहेको छ । यस नयाँ शैक्षिक सत्रमा पनि सो विद्यालयले पनि प्रकाशन परिवर्तन सूचि पठाएको छ । ‘अहिलेनै सबै सूचि आएको छैन् । तर, केही कक्षाको मात्र सूचि पुस्तक पसलहरुमा पुगेको छ’ एक पुस्तक पसल सञ्चालकले भने –‘अधिकाँस विद्यालयले प्रकाशनसंग सम्झौता नमिल्दा विस्तृत विवरण पुगेको छैन् ।’ विशेषतः विद्यालयहरुले कक्षा नर्सरीदेखिनै प्रकाशन हरेक वर्र्ष परिवर्तन गर्दै आएका छन् । तर, प्रकाशनलाई कक्षा ८ देखि १० सम्मको पाठ्यक्रम परिवर्तन गर्दा विद्यालयलाई लाभ मिल्छ ।

धनगढीकै चर्चित अर्को विद्यालय एक्सिस विद्या आश्रमले अहिले कक्षा ८ देखि १० कै पाठ्यक्रमको सूचि केही पुस्तक पसलमा पठाएको छ । त्यसमा गत वर्षको प्रकाशन भन्दा नयाँ सूचि रहेको छ । 

विशेषतः विद्यालयहरुले गणित, विज्ञान तथा सामाजिक लगायत अभिभावकहरुले महँगो शूल्क तिर्नुपर्ने विषयका पुस्तकका प्रकाशन परिवर्तन गर्ने गरेको उनी बताउँछन् । धनगढीमा सञ्चालनमा रहेका संस्थागत विद्यालयमा एश्वर्य विद्या निकेतन, एक्सिस विद्या आश्रम, स्टेपिङ स्टोन, कैलाली मोडल स्कुल, एलजी एकेडेमी, क्रिसेन्ट सिटी स्कुल लगायतका विद्यालयका पाठ्यक्रम प्रकाशनका सूचि पुस्तक पसलहरुमा पुगेको जनाइएको छ । उनी भन्छन् –‘पूर्ण विवरण पुगेको छैन । जुन पुस्तक पसलले राम्रो पैसा विद्यालयलाई उपलब्ध गराउन सक्यो त्यसैलाई सूचि आउने गरेको छ । अहिलेसम्म थोरै विद्यालयको र केही सिमित कक्षाको पाठ्यक्रमको सूचि आएको छ ।’