वैशाख २० गतेदेखि ३० गतेसम्म धनगढीमा मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । धनगढी उप महानगरपालिकाको आयोजनामा वडा नम्बर १२ र वडा नम्बर १८ गरी दुई स्थानमा मेयर कप फुटबल प्रतियोगिता आयोजना हुन लागेको आज धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
नगर खेलकुद समितीका संयोजक दिपक थापाले वडा नम्बर १२ मा वैशाख २० गतदेखि २८ गतेसम्म क्वाटरफाईनलका खेल हुने र त्यसपछि २९ र ३० गते वडा नम्बर १८ मा सेमिफाईनल र फाईनलका खेल हुने जानकारी दिनुभयो । प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका टीमहरुको सहभागीता रहने भएको छ । मेयर कपको खेल तालिका पनि जारी भईसकेको छ ।
धनगढीलाई खेलकुदको शहरको रुपमा विकास गर्नका लागि धनगढी उपमहानगरपालिकाले सहयोग गरिरहेकोले त्यसै क्रममा मेयर कप आयोजना गरिएको धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडले बताउनुभयो ।
उपमहानगरपालिका वडाहरुको सहभागीतामा हुने मेयर कप फुटबल प्रतियोगिताको विजेतालाई एक लाख एक हजार तथा उपविजेतालाई ५१ हजार नगद पुरस्कार दिईनेछ ।
प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गर्ने भएको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाईने मेयर ओडले बताउनुभयो ।