महाकाली अस्पतालमा के-के छन् समस्या ? कसरी समाधान गर्ने ?

महाकाली अस्पतालमा के-के छन् समस्या ? कसरी समाधान गर्ने ?

म अहिले यस महाकाली अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष भएको  एकवर्ष पुरा भएको छ। अहिले हाम्रो महाकाली अस्पतालमा समस्या र चुनौतीसँगै हिँडिरहेको छ। पछिल्लो एकवर्षको दौरानमा सबैभन्दा ठूलो चुनौती भनेको जनशक्तिको विषय छ।

महाकाली अस्पतालमा जनशक्तिको स्थायी दरबन्दीमा न्यून कर्मचारी मात्र कार्यरत छन्।  चिकित्सकहरुको स्थायी पदपुर्तिको एकजना मात्र हुनुहुन्छ। अन्य छात्रवृत्ति करार र करारमा नियुक्त भएकाहरु हुनुहुन्छ। यो नै हाम्रो चूनौतीको विषय छ। अर्को भनेको भौतिक पूर्वाधार पनि पर्याप्त छैन। यो पनि समस्याको रुपमा छ।

हामीले स्थायी चिकित्सक नभएको अवस्थामा अहिले करारका चिकित्सक राख्न अस्थायी दरबन्दीको आवेदन पनि खुलाएका छौं। अहिलेसम्म हामीले अस्थायी चिकित्सक राखेर सेवा प्रवाह गरिरहेका छौं। भौतिक पूर्वाधारको विषयमा पनि संघीय सरकार र प्रदेश सरकारसँग आवश्यकताको विषयमा जानकारी गराएर माग गरिरहेका छौं। पछिल्लो समय आकस्मिक विभागको भवनका लागि प्रदेश सरकारले सहयोग गरेको छ भने प्रसूति तथा बाल रोगको विभागको भवन निर्माणका लागि केन्द्र सरकारले सहयोग गरिरहेको छ। यी दुई भवन निर्माणाधिन अवस्थामा छ।  साथै प्रदेश सरकारले स्टाफ क्वाटरको भवन निर्माणमा सहयोग गरेर भवन निर्माण भइसकेको छ। 

म आइसकेपछि सेवा विस्तारतर्फ पहिलाको सेवालाई निरन्तरता दिने र थप गुणस्तर बनाउने काम गरिरहेका छौं। यसका साथै नयाँ सेवा पनि थप्दै लगेका छौं। यो एकवर्षमा इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएका छौं। यस्तै बन्द रहेको एसएनसियु सेवा पनि फेरि सञ्चालनमा ल्याएका छौं। अहिले हामीले सर्जरी वार्ड पनि अत्याधुनिक र छुट्टै सञ्चालनमा ल्याएर सेवाग्राहीले सहज रुपमा सेवा पाइरहेका छन्। डायलाइसिस सेवालाई औपचारिक रुपमा उद्घाटन नगरिएपनि सेवा सुरु गरिसकेका छौं।  अहिले प्रत्येक दिन २ देखि ३ जनासम्मको डायलाइसिस गर्न थालेका छौं। 

यो अस्पतालमा चिकित्सक नआउनुको कारण सुदूरपश्चिम प्रदेश भनेर सरकारले नै हेपेको जस्तो लाग्छ। अर्को महाकाली अस्पतालमा भन्दा काठमाडौं नजिकका दुर्गममा प्रमोसनका लागि चिकित्सकहरु जान रुचाउँछन। काठमाडौं नजिकको जिल्लाका अस्पताल दुर्गममा राखिँदा चिकित्सकहरु आफ्नो प्रोमोसनका लागि काठमाडौं नजिकका दुर्गममा मात्र जान खोज्ने गर्छन्।

राज्यले  विशेषज्ञ चिकित्सक राख्न उहाँहरुलाई आकर्षक पारिश्रमिक र वातावरण नभएको हामीलाई आभाष भएको छ। हामीले हाम्रो तवरबाट पहल गरिरहेका छौं तर स्थायी पदपुर्तिमा न्यून चिकित्सक भएको र दरबन्दी संघीय सरकार मातहतका मात्र भएको र प्रदेश सरकारले लोकसेवा नखोल्दा पनि यो समस्या भएको छ।

प्रदेश सरकारले स्थायी पदपुर्तिको तयारी गरिरहेको भनेको छ प्रदेशको लोकसेवा खुलेपछि स्थायी पदपूर्ति हुन्छ कि भन्ने आसा छ। 

महाकाली अस्पताल केन्द्र सरकारले सुरुमा ५० शय्या निर्धारण गरेको थियो।  अस्पताल व्यवस्थापन समितिले ५० शय्या थप गरेर अहिले १०० शय्यामा सञ्चालन गरिएको छ।

अबको लक्ष्य २०० शय्यामा सञ्चालन गर्ने हो। सोही अनुसार अगााडि बढिरहेका छौं।  व्यवस्थापन समितिको अध्यक्षको हैसियतले मैले र हाम्रो समितिले अस्पताल विस्तारका लागि प्रदेश र संघीय सरकारसँग इन्डोर भवन र ओपिडि ब्लकको  भवन निर्माणका लागि बजेट माग गरेका छौं। अहिले एउटै ब्लक भित्र सम्पूर्ण आकस्मिक सेवा हुने गरेर भवन बनाएका छौं। आकस्मिक  भवनको माथिल्लो दुईतला भवन अझै अपुग छ त्यो निर्माणको लागि पनि पहल गरिरहेका छौं।

अर्को अत्यन्तै अभाव भएको दक्ष जनशक्तिको लागि मैले प्रदेश सरकार र केन्द्र सरकारसँग जनशक्तिको माग गर्दै ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझाइरहेको छु। यहाँ स्थायी पदपुर्ति नै भयो भने यहाँका जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउन सक्छन्। 

अस्पतालको समस्याबारे हामी प्रदेश र संघीय सरकारसँग निरन्तर सम्पर्क र समन्वयमा छौं।  

अहिले हामीसँग चिकित्सकको दरबन्दी एकजना ८ औं तहको चिकित्सक हुनुहुन्छ उहाँ पनि काजमा हुनुहुन्छ। हाम्रो अस्पतालमा ११ औं तहको मेसु हुनुपर्नेमा ८ औं तहको निमित्त मेसुले अस्पताल धानिराख्नु भएको छ। जनशक्ति नआउनु र टिकाइ राख्न नसक्नुमा राज्यको नीति नै बाधक छ।

राज्यले बस्नै पर्ने नीति बनाएमा चिकित्सक बस्ने थिए। सुदूरपश्चिम प्रदेशलाई दुर्गममा राख्नुपर्छ। र राज्यले लोकसेवा खुलाएर चिकित्सकहरुको स्थायी पदपुर्ति बढाउनुपर्छ र उहाँहरुलाई दुर्गममा पठाउने र जानै पर्ने व्यवस्था गर्नुपर्छ। 

हाम्रो व्यवस्थापन समितिले चिकित्सकहरुलाई टिकाइराख्न तलबमानको सतप्रतिशत  सुविधा दिने व्यवस्था पनि मिलाएका छौं।

३,४ वर्षको तुलनामा हाल थोरै भएपनि आएका चिकित्सक स्टेबल गराउन सकिएको छ। अहिले हामीसँग संघीय सरकारले प्रसूति तथा बालरोग विभाग सञ्चालनका लागि ५ तलाको भवन निर्माणाधिन अवस्थामा छ। यो संघीय सरकारको २१  करोड लागतमा निर्माण भइरहेको छ। यो भवन निर्माण सक्न अझै २ वर्षको म्याद रहेको छ। यो भवन बनिसकेपछि यो अस्पतालमा अझ् धेरै सेवाहरु विस्तारहरु र सेवा प्रवाह सहज हुने विस्वास छ। यो भवन बनिसकेपछि  सेवाग्राहीले सहज, व्यवस्थित र गुणस्तरिय स्वास्थ्यसेवा पाउने आशा लिएका छौं। 

अहिले अस्पतालको आन्तरिक स्रोतको बलियो विभाग फार्मेसी, ल्याब र सर्जरी विभाग हो। यहीबाट आएको आर्थिक स्रोतबाट थप चिकित्सकलाई सुविधा दिन सकेका छौं।

यहाँ सिटी स्क्यान नभएकाले उपचार गर्ने चिकित्सक भएपनि टाउकोमा चोट लागेर आएका बिरामीलाई रेफर गर्नुपर्ने अवस्था छ। कतिपय अवस्थामा विशेषज्ञ चिकित्सक नहुँदा विशेषज्ञ सेवा आवश्यक पर्ने बिरामीलाई पनि रेफर गर्नुपर्ने अवस्था छ। 

म एकवर्षसम्म यहाँ रहेर काम गर्दा मैले समस्या, चुनौतीसँगै अवसरहरु पनि देखें। सरकालाई के आग्रह गर्न चाहन्छु भने स्वास्थ्य आफैंमा संवेदनशील क्षेत्र हो। नागरिकको पहिलो प्राथमिकताको विषय स्वास्थ्य हो। त्यसैले सरकारले स्थायी दरबन्दी पदपुर्ति गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ। (कृष्णानन्द भट्ट महाकाली  अस्पताल  व्यवस्थापन समितिका अध्यक्ष हुन्)