खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्धारा धनगढीमा होटलहरु स्तरीकरण गर्न शुरु

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्धारा  धनगढीमा होटलहरु स्तरीकरण गर्न शुरु

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले धनगढीमा होटलहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण गर्न शुरु गरेको छ । होटलमा खाद्य स्वच्छता खाद्यान्नको गुणस्तर, सरसफाई र भान्छाको अवस्थाका आधारमा स्तरीकरण गरिन थालिएको हो ।

मंगलबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले चटकपुरस्थित होटल फ्लोरामा दुई वटा तारा भएको हरियो स्टिकर टाँस्दै स्तरीकरण अभियानको शुभारम्भ गर्नुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बिभिन्न ५० वटा मापदण्ड तयार गरी त्यसका आधारमा होटलहरुलाई स्तरीकरण गर्ने गर्छ । फ्लोरा होटलले ५० वटा मापदण्ड मध्ये अधिकांश पुरा गरेको आधारमा उसलाई ख स्तरको उत्तम होटलको रुपमा स्तरीकरण गरिएको छ ।

पहिलो चरणमा आवासीय सुविधा भएका होटलहरुलाई स्तरीकरण गरिएको र क्रमशः रेष्टुरेण्ट र अन्य खाजा पसलहरुलाई पनि स्तरीकरण गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले बताउनुभयो ।

होटलहरुलाई स्तरीकरण गर्नु पूर्व खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले होटलहरुमा ५० वटा मापदण्ड पुरा भए नभएको अनुगमन गर्ने गरेका छन् ।

होटल ब्यवसायी संघ कैलालीको समन्वयमा स्तरीकरण गर्ने काम शुरु गरिएको हो । नेपाल घुम्न आउने पर्यटकहरु खाद्य स्वच्छताको अभावले खानाकै कारण बिरामी परेर नेपाल बसाई छोट्ट्याएर फर्कन थालेपछि खाद्य स्वच्छताका आधारमा स्तरीकरण गर्ने अभियान शुरु गरिएको हो ।