पाठ्यपुस्तक दिवसकै दिन पारेर पुस्तक वितरण

पाठ्यपुस्तक दिवसकै दिन पारेर पुस्तक वितरण

दार्चुला । विद्यार्थीले यस वर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । चैत ५ गते मंगलबार पाठ्यपुस्तक दिवसको अवसरमा विद्यार्थीलाई पुस्तक वितरण गरिएको महेन्द्र नमुना मावि खलङ्गाका प्रधानाध्यापक रामदत्त जोशीले बताए  । 

विद्यार्थीलाई भर्नासँगै स्वागत गरिएको र किताब वितरण गरेर शुभकामनासहित घर पठाइएको बताए । दार्चुलामा आधारभूत र माध्यमिक तहमा गरी झण्डै २३ हजार विद्यार्थी अध्ययनरत छन् । भर्ना सप्ताहभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्नेगरी वितरणको काम भइरहेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले बताए ।

वैशाख ५ गते पाठ्यपुस्तक दिवस मनाइन्छ, उहाँले भन्नुभयो, “विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक सबै विद्यार्थीको हातमा पुगिसक्छ ।” जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीबाट जिल्लाका स्टेशनरीहरुले विद्यार्थीको माग बमोजिमका अधिकांश पुस्तक ल्याइसकेको उनले बताए। 

सुदूरपश्चिमको दार्चुला, बझाङ, बाजुरालगायत विकट जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको जनक शिक्षा सामग्री केन्द्र धनगढीका प्रमुख ध्रुवराज पन्तले जानकारी दिए । सबै पहाडी जिल्लामा पुस्तक पठाइसकेको उनले बताए । माग भएको अधिकांश पुस्तक जिल्लामा ल्याएर विद्यालयलाई वितरण गरिसकेको साउद पुस्तक भण्डार गोकुलेश्वरका सञ्चालक नरबहादुर साउँदले जानकारी दिए । 

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार दार्चुलाका नौ वटै स्थानीय तहका पुस्तक विक्रेताले पाठ्यपुस्तक ल्याइसकेका छन् । शैक्षिकसत्रको सुरुवातमै भर्ना भएसँगै पढ्नका लागि हातमै पाठ्यपुस्तक पाउँदा खुसी लागेको विद्यार्थीले बताएका छन् । गत वर्ष शैक्षिकसत्रको अन्तिमसम्म पुस्तक नपाउँदा तालाबन्दी गर्नुपरेको थियो, शैल्यशिखर नगरपालिका –६ को मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीका छात्रा निशा धामीले भने, “यो वर्ष विद्यालयमा भर्ना हुनेवित्तिक्कै किताब पाउँदा खुसी लागेको छ ।”