नेत्री देउवाद्वारा विभिन्न संरचनाको उदघाटन

नेत्री देउवाद्वारा विभिन्न संरचनाको उदघाटन

धनगढी  । नेपाली कांग्रेसका नेत्री एवम् प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्मित विभिन्न संरचनाको उदघाटन गरेकी छिन् । मङ्गलबार उहाँले धनगढी नमूना माध्यमिक विद्यालयको ३६ कोठे भवनसहित बेहडाबाबा मन्दिर परिसरमा निर्मित विभिन्न संरचना, तौलाहा ताल संरक्षणका लागि निर्मित संरचनाको उद्घाटन  गरेकी छिन्। 

धनगढी उपमहानगरपालिका –१६ स्थित बेहडाबाबा मन्दिर परिसरमा सङ्घीय सरकार र धनगढी उपमहानगरपालिका गरी तीन करोड ९४ लाख तीन हजार रुपियाँ लगानीमा विभिन्न संरचना निर्माण गरिएको छ । धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित मन्दिर परिसरमा रिटेनिङ वाल, पर्खाल निर्माण र ब्लक लगाउने कार्य भएको जनाइएको छ । श्री एसपी कन्स्ट्रक्सन कम्पनी प्रा.लि. काठमाडौंले ठेक्का पाएर निर्माणको काम गरेको थियो । बेहडाबाबा मन्दिरको दर्शनका लागि गङ्गा दशहरा मेलामा भारतीय तीर्थालुको समेत घुइँचो लाग्ने गरेको छ । 

यसैगरी, धनगढी उपमहानगरपालिका –८ धनगढी गाउँमा रहेको तौलाहा तालमा निर्मित संरचनाको पनि नेत्री देउवाले उदघाटन गरेकी छिन्। तौलाहा तालको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले संरचना निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिकाको दुई करोड ३४ लाख ८५ हजार रुपियाँ लगानीमा ताल वरिपरि संरचना निर्माण गरिएको छ । रोयल–पवन जेभीले ठेक्का पाएर संरचना निर्माणको काम गरेको थियो । 

२०७६ असारमा ठेक्का भई काम अगाडि बढाइए पनि बीचमा विवादका कारण काम रोकिएको थियो । विवाद मिलेपछि यसै वर्ष निर्माणको काम सम्पन्न गरिएको थियो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सभा सदस्य रमेश धामी, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललगायतको उपस्थिति थियो ।