‘आमा’देखि ‘शान्तिदीप’सम्म : १० नेपाली फिल्मले पाए डिजिटल जीवन

‘आमा’देखि ‘शान्तिदीप’सम्म : १० नेपाली फिल्मले पाए डिजिटल जीवन

काठमाडौं । फिल्म छायांकन, पोस्ट प्रोडक्सनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्छ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’को निर्माण र प्रदर्शनसँगै भएको थियो ।

सन् २००८ मा क्वेस्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई फिल्मसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको चलचित्रकर्मी बताउँछन् । प्रविधि डिजिटलमय भएसँगै चलचित्र विकास बोर्डले पुराना चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेसन तथा रेस्टोरेसन गरेको छ ।

सेल्युलाइड प्रविधिमा रहेका महत्वपूर्ण फिल्म आमा, के घर के डेरा, बदलिंदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजो आज भोलि र शान्तिदीपलाई डिजिटाइजेसन गरेर सुरक्षित राखेको बोर्डका चलचित्र संग्रहालय, सूचना तथा अन्तर्राष्टिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले जानकारी दिए ।

डिजिटाइजेसन गरेसँगै ती फिल्मलाई अंग्रेजी भाषामा सबटाइटल समेत गरिएको छ । ‘डिजिटाइजेसनसँगै ती चलचित्रको रिल रेस्टोरेसन पुरानोलाई नयाँजस्तै बनाउने गरेर राखिएको छ । रेस्टोरेसनले एट के आधुनिक प्रविधि वा अन्य विकसित गुणस्तरमा स्तरोन्नति गर्न सकिनेछ । हामीले सरकारी लगानीमै निर्मित १५ घण्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइजेसन गरेका छौं,’ उनले भने ।