उपनिर्वाचनमा हेलिकोप्टरको प्रयोग नगर्न आयोगको निर्देशन

उपनिर्वाचनमा हेलिकोप्टरको प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा हेलिकोप्टर प्रयोग नगर्न निर्देशन दिएको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएको हो।

भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा राजनीतिक दलले आफ्नो निर्वाचन प्रचारप्रसार गर्न पाउनलाई हेलिकोप्टर प्रयोग गर्न दिने व्यवस्था रहे पनि वैशाख १० मा हुने उपनिर्वाचनमा त्यस्तो अवस्था नरहेकोले हेलिकोप्टर प्रयोग नगर्न भनेको छ। 

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड ६ मा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ। तर, निकट भविष्यमा उपनिर्वाचन हुन गइरहेका जिल्लाहरूमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकोप्टर प्रयोग नगरी प्रचारप्रसार गर्न सकिने अवधि पर्याप्त रहेको साथै उक्त जिल्लाहरूमा यातायातको सहज पहुँच समेत रहेको छ। यसरी यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारको लागि हेलिकोप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकोले संवत् २०८० साल वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकोप्टर सेवा प्रयोग नगर्नुहुन सूचित गरिन्छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।