आयात प्रतिस्थापन गर्ने गरी तार उद्योगमा ४ अर्ब लगानी

आयात प्रतिस्थापन गर्ने गरी तार उद्योगमा ४ अर्ब लगानी

बुटवल । विद्युतीय तार आयातलाई प्रतिस्थापन गर्ने गरी बुटवल औद्योगिक क्षेत्रमा रहेको लिटमस इन्डष्ट्रिजले केवल उद्योगमा चार अर्ब पुर्‍याउने गरी उत्पादन विस्तार गरेको छ। 

लुम्बिनी विद्युतको नामबाट ४६ वर्षअघि बुटवलमा स्थापना भएको कम्पनीले लिटमस ब्राण्डको तार उत्पादन गरिरहेको छ। नाम परिवर्तन गर्दै लिटमस कम्पनीले बुटवल औद्योगिक क्षेत्रमा एक अर्ब लगानी गरिसकेको छ।

कम्पनीले नवलपरासीमा दोस्रो प्लान्टको तयारी गरेको छ। कम्पनीका उपाध्यक्ष सरोज मिश्रले उद्योग विस्तारका लागि नवलपरासीमा १५ विगाहा जमिन लिइएको र संरचना निर्माण सुरु भएको बताए।  

‘हामी तार आयातलाई प्रतिस्थापन गर्ने योजनासहित लगानी विस्तार गरिरहेका छौं, योजना पूरा हुँदा लगानी ४ अर्ब पुग्नेछ, उनले भने, ‘घरायसी तथा प्रशारण लाइनमा प्रयोग हुने ४०० केभीए क्षमताका कन्डक्टरदेखि तारसम्म अहिले बनिरहेका छन्।’

बुटवल औद्योगिक क्षेत्रको दुई विगाहा प्लट साँघुरो भएपछि नवलपरासीमा उद्योग विस्तार गर्नुपरेको मिश्राले बताए। यो उद्योगको मातृ कम्पनी भने रमेश कर्प हो। रमेश कर्पले बुटवलको लिटमसमा मात्रै १ अर्ब लगानी गरिसकेको उपाध्यक्ष मिश्रले बताए।