मिस नेपालका २४ सुन्दरी पोखरा प्रस्थान, आज ट्यालेन्ट राउण्डको प्रतिस्पर्धा

मिस नेपालका २४ सुन्दरी पोखरा प्रस्थान, आज ट्यालेन्ट राउण्डको प्रतिस्पर्धा

काठमाडौं । मिस नेपाल २०२३ को सहविधाको प्रतिस्पर्धाका लागि २४ जना सेमिफाइनलिस्ट शुक्रबार पर्यटकीय नगरी पोखरा प्रस्थान गरेका छन् । मिस नेपालका कुल ११ सबटाइटलमध्ये शुक्रबार ट्यालेन्ट राउण्ड सबटाइटल प्रतिस्पर्धा पोखरामा हुँदैछ ।

मिस नेपालको इतिहासमा पहिलोपटक सहविधा प्रतिस्पर्धा काठमाडौंबाहिर हुन लागेको हो । स्थानीय वाटरफ्रन्ट रिसोर्टमा हुने प्रतिस्पर्धामा सुन्दरीहरुले गायन, नृत्य र साहित्यका विभिन्न विधामा आफ्नो कला क्षमता प्रस्तुत गर्ने हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले अनलाइनखबरलाई बताए ।

शनिबार बिहान प्रतियोगी सुन्दरीहरुले पोखराको मगरगाउँ होमस्टेको अवलोकन गर्नेछन्, जसको आयोजना पर्यटन बोर्डले गरेको हो । त्यसपछि शान्ति माविमा वृक्षारोपण गर्ने कार्यक्रम छ । आइतबार बिहान टाटा मोटर्सले आयोजना गर्ने इलेक्ट्रिक गाडीको र्‍यालीमा उनीहरुले सहभागिता जनाउनेछन् ।

मिस नेपालको महत्वपूर्ण सबटाइटल मानिने मिस पपुलर च्वाइसको प्रतिस्पर्धा सुरु भएको छ । गत सातादेखि सुरु भएको भोटिङ जेठ १३ गते हुने फिनालेसम्म निरन्तर हुनेछ । पपलुर च्वाइस सहविधामा बढी भोट ल्याउने सुन्दरीले सिधै फाइनलमा प्रवेशको अवसर पाउनेछिन् । जसकारण पनि सुन्दरीबीच बढी भोट ल्याउन प्रतिस्पर्धा सुरु भएको छ ।


अन्य सहविधाका प्रतिस्पर्धा काठमाडौंमा हुने हिडन ट्रेजरले जानकारी दिएको छ ।