बर्दगोरियामा सम्झौता अगावै अस्पताल निर्माण

बर्दगोरियामा सम्झौता अगावै अस्पताल निर्माण

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । गत असारदेखि सुरु भएको निर्माण सम्झौता अगावै पूरा भएपछि स्थानीय खुसी भएका छन् । सङ्घीय सरकारको सहयोगमा १३ करोड ८३ लाख १८ हजार २८६ रुपियाँ लागतमा अस्पताल भवन निर्माण पूरा भएको हो ।

२०८० असार २० गते पूरा गर्ने गरी १५ शय्याको अस्पताल निर्माणको जिम्मा लुम्बिनी र थोदुङरशिव खिम्ती जेभी निर्माण कम्पनीले पाएको थियो । निर्माण कम्पनीका सञ्चालक एकेन्द्र मल्लले २०७८ असार २० गते सम्झौता गरेर निर्माण सुरु गरेको जनाउँदै सम्झौता मितिभन्दा चार महिना अगावै अस्पताल भवन निर्माणले पूर्णता पाएको बताए ।

उनले निर्माण सामग्री र जनशक्ति अभाव नभएका कारण निर्माण कार्यले तीव्रता पाएको उल्लेख गरे । देशभर एकसाथ शिलान्यास गरिएका ३९६ वटा १५ शय्याका आधारभूत अस्पतालमध्ये समयमै निर्माण पूरा भएको सम्भवतः बर्दगोरिया आधारभूत अस्पताल पहिलो भएको अनुमान गरिएको छ । तत्कालीन दोदोधारा स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरेर १५ शय्याको दोदोधारा आधारभूत अस्पताल बनाइएको हो ।