बैतडीको मेलौलीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

बैतडीको मेलौलीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

बैतडी । बैतडीको मेलौलीमा शुक्रबारदेखि बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । बैतडी समाज कैलालीको आयोजना र मेलौली नगरपालिकाको समन्वयमा शिविर सञ्चालन भएको हो । 

स्वास्थ्य शिविरको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमकाबीच आज उद्दघाटन गरेका छन् । बिहीबार बैतडी पुगेका मुख्यमन्त्री शाह शुक्रबार दिउँसो मेलौली पुगेर शिविरको उद्दघाटन गरेका हुन् । 

स्वास्थ्य शिविर उद्दघाटन कार्यक्रममा बैतडी प्रदेश सभा क्षेत्र नं २ का प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाका प्रदेशसभा सदस्य विक्रमसिंह धामी लगायतको उपस्थिती रहेको थियो । 

बैतडीको तल्लोसोराड क्षेत्रका नागरिकको बिशेषज्ञ स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए । 

तीनदिन सम्म सञ्चालन हुने शिविरमा बिशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । शिविरमा आँखा, नाक, कान, घाँटी सम्बन्धी सेवा दिइनुका साथै अन्य सेवाहरु समेत सञ्चालनमा रहेका छन् । 

शिविर सञ्चालनमा बैतडी समाज कैलालीका साथै धनगढी नेत्रालय, च्यारेटी हेल्थ फाउण्डेसन लगायतका संस्थाहरुको समेत सहयोग रहेको छ । शिविरको उद्दघाटन गर्दै मुख्यमन्त्री शाहले दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन यस्ता शिविरहरुले सहयोग गर्ने बताए ।