युवकको हत्या गरी फरार रहेका दम्पती पक्राउ

युवकको हत्या गरी फरार रहेका दम्पती पक्राउ

काठमाण्डौँ । युवकको हत्या गरी फरार रहेका दम्पतीलाई बारा प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ भिस्वा बस्ने वर्ष २४ का रामु भनिने कैलास महतो र रोसनी भनिने २० वर्षकी हिरादेवी रहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए।

विसं २०७९ मङ्सिर २७ गते राति अन्दाजी ९ बजेको समयमा विश्रामपुर गाउँपालिका–५ इट्याही टोलस्थित दरबार कोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा जितपुर सिमरा उपमहानगरपालिका–८ राजानगर टोलमा बस्ने वर्ष २२ का सुरज भनिने महेश साहको हत्या गरेर शव लुकाइराखेको अवस्थामा फेला परेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार हिरादेवी र मृतक महेश कोठामा सँगै बस्ने गरेको भए पनि महेश र हिरादेवीबीच विवाह गर्ने कुरा भएको तर हिरादेवीको पहिला नै विवाह भई छोरीसमेत भएको हुँदा महेशको घर परिवारका मानिसले विवाह गर्न मानेका थिएनन् ।

गत मङ्सिर २७ गते राति हिरादेवी र महेशलाई हिरादेवीका श्रीमान् कैलाशले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेपछि मृतकसँग विवाद भई निजहरुले तारले घाँटीमा कसी कर्तव्य गरी मारी शव लुकाउने उद्देश्यले परालको भुसमा लुकाइराखेर भागेको प्रहरीले जनाएको छ ।