बाढीपहिरोको जोखिममा बाउँली बस्ती

बाढीपहिरोको जोखिममा बाउँली बस्ती

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका ८ र ९ को राप्का बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका छन् । खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन् ।

बाउँली खोलाले प्रत्येक बर्खाको समय जमिन कटान गर्दै गएपछि यती बेला राप्का र बाउँलीका स्थानीय बस्तीनै खोलाले बगाउँने हो की भन्ने  चिन्तामा छन् ।

बडिमालिका नगरपालिका ८ र ९ स्थानीयका अनुसार, प्रत्येक वर्षमा बर्खाको समय बाउँली खोलाले जमिन कटान गर्दै गएकाले अहिले बस्ती जोखिममा रहँदै आएको बत्ताउँछन् ।

बाढीपहिरोको जोखिमा परेका बडिमालिका नगरपालिकामा ८ राप्का र ९ बाउँलीका स्थानीयको अन्य कतै बास बस्ने व्यवस्था नभएपछि जोखिम रहेको बस्तीमै बसोबास गर्दै आएका छन् । विगत देखिनै बाढीपहिरोको जोखिममा बस्ती रहेको भए पनि अहिलेसम्म स्थानान्तरण हुन सकेको छैनन् ।

स्थानीय तहले बस्ती स्थानान्तरणका लागि बस्तीको तथ्याङ्क सङ्कलन गरी जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाइ सकेको छ । तर त्यहाँबाट अहिलेसम्म कुनै जानकारी नआएको बडिमालिका नगरपालिकाका स्थानीय वीरबहादुर थापाले बताए ।

उनले भने, ‘‘बाउँलीसँग राप्काको बस्ती पनि यती बेला बाढीपहिरोको निकै जोखिममा छ । गत वर्ष बर्खाको समयमा बस्तीको तलमाथिबाट पहिरो बग्दै आएपछि जोखिममा रहेको हो । बाउँली खोला हिउँदमा सानो हुन्छ, यसले केही असर गर्दैन । जब बर्खा लाग्छ अनि खोला उर्लेर आउँछ त्यसपछि खोलाले कति बेलामा बस्ती बगाउँछ भन्ने डरले रातिमा निन्द्रा समेत लाग्दैन ।’’

बडिमालिका नगरपालिका दर्जनौँभन्दा बढी बस्ती बाढीपहिरोको जोखिममा रहेका छन् । जोखिम बस्तीलाई स्थानान्तरणका लागि जिल्ला विपत् व्यवस्थापन समितिमा छलफल भइरहेको बडिमालिका नगरपालिकाले जनाएको छ ।

बाढीपहिरोको जोखिममा रहेका बाजुराका झण्डै १५० भन्दाबढी बस्तीको तथ्याङ्क सङ्कलन गर्दै स्थानान्तरणका लागि गृहमन्त्रालयमा पठाएको तर अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुरा जनाएको छ ।