नेपाल कम्यूनिष्ट आन्दोलन स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो

नेपाल कम्यूनिष्ट आन्दोलन स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो

धनगढी । नेपाल कम्यूनिष्ट पार्टीको ७५ औं स्थापना दिवस कैलालीसहित देशभर विविध कार्यक्रम गरि मनाइएको छ । ‘संसारका श्रमजीविहरु एक होऔं’ भन्ने नाराका साथ नेकपा एकीकृत समाजवादी पार्टीले विविध कार्यक्रम गरेको हो ।

दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा धनगढीमा ‘नेपाल कम्यूनिष्ट आन्दोलनः उपलब्धी, चुनौति र सम्भावना’ विचार गोष्ठी कार्यक्रम गरिएको छ । प्रदेश इन्चार्ज मदनकुमारी (गरिमा) शाहको अध्यक्षतामा भएको गोष्ठीमा पार्टीका केन्द्रिय उप–महासचिव विजय पौडेल प्रमुख वक्ता रहेका थिए ।

गोष्ठीलाई सम्बोधन गर्दै महासचिव पौडेलले संविधानमै व्यवस्था गरिएको वैज्ञानिक समाजवादबाटै राष्ट्रलाई समृद्धितर्फ लग्न सकिने बताए । उनले कम्यूनिष्ट पार्टीका उपलब्धीहरु थुप्रै रहेको तर, कम्यूनिष्टभित्रको आन्तरिक कमजोरी र मुल धारका पार्टीभित्र देखिएको असन्तुष्टि ठुलो चुनौति बन्दै गएको बताए ।

उनले नेपाली कृषकको उत्पादन सरकारले खरिद गर्ने गरी बाध्य बनाउने नीति ल्याउनुपर्ने बताए । उनले भने –‘कृषि उपकरण, मलखादमा अनुदान दिनु भनेको गलत हो । त्यसमा अनुदान दिनुभन्दा कृषि बस्तु खरिद गरेर विक्री गर्ने नीति सरकारले बनाउँदा सरकारको आयस्रोत पनि बढ््छ ।’ उनले विश्वका हरेक राज्यमा आयस्रोतको कुनै न कुनै बस्तु रहेको बताउँदै –‘नेपाल सरकारको अर्थ मन्त्रालयमा नेपालमा उत्पादित एक सय ३२ वस्तुबाट आम्दानी राम्रो हुने प्रतिवेदन बनाएर राखेको छ । ती वस्तु उत्पादन गर्दै सरकारले खरिद गरेमा अर्थतन्त्रमा सुधार हुन्छ ।’

उपमहासचिव पौडेलले रक्सी खानु गलत भएपनि नखाई नहुने अवस्थामा विदेशी रक्सी छोडेर नेपाली गाउँ ठाउँमा बनाएको तीन पाने ब्राण्डिङ रक्सीको बिक्री वितरण खुला हुनुपर्ने, नपालमा पनि गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने सुझाव दिए ।

उनले कम्यूनिष्टले जहिले पनि श्रमजीविको पक्षमा काम गरिरहेको बताए । उनले केपी शर्मा ओलीले दुई तिहाइ बहुमतको सरकार बनाउँदा देशमा परिवर्तन ल्याउन नसकेको बताए । उनले भने –‘दलाल पुँजिवादी व्यवस्था हाबी हुँदा भ्रष्टाचार थप जटिल बन्दै गएको छ । अहिले बनेको तीन तहकै सरकारमध्ये सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा बढेको छ ।’

उनले एकीकृत समाजवादी पार्टीले तयार पारेको नयाँ एजेण्डा र विचार जनतासामु लग्न आवश्यक रहेको बताए । उनले पार्टीका हरेक तहमा युवालाई समावेश गर्नु जरुरी रहेको बताए ।