गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ। मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत गुमाएसँगै सरकार ढलेको हो।

मुख्यमन्त्री अधिकारीले नेपालको संविधान धारा १८८ को उपधारा ९२० बमोजिम प्रदेश सभाबाट विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए। अधिकारीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको सभामुख कृष्णप्रसाद धितालले घोषण गरे।

प्रदेश सभाको शनिबारको बैठकमा उपस्थित ५९ सांसदमध्ये २४ जनाले मात्रै अधिकारीको विश्वासको मतको पक्षतमा मतदान गरे। विश्वासको मतको प्रस्तावको विपक्षमा ३५ सांसद उभिए।

६० सदस्यीय प्रदेश सभामा राप्रपा सांसद बिन्दु अधिकारी पहाडी अनुपस्थित थिइन्। उनी बिरामी भएकाले उपस्थित हुन नसकेको जनाइएको छ।

प्रदेश सभाको विश्वास गुमाएसँगै अधिकारी मुख्यमन्त्रीबाट पदमुक्त भएका छन्। गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका थिए। तर, गत चैत १० गते माओवादी समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।

प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखबाहेक सात, राप्रपाका दुई जना र एक जना स्वतन्त्र सांसद छन्।