बारा २ मा मतपेटिका ओसारिँदै, रातिबाट मतगणना गर्ने

बारा २ मा मतपेटिका ओसारिँदै, रातिबाट मतगणना गर्ने

काठमाण्डौँ। बारा २ मा भएको उपनिर्वाचन अन्तर्गत मतदान सकेपछि मतपेटिका ओसार्न सुरु गरिएको छ ।

बाराको सदरमुकाम कलैयास्थित शिक्षा समन्वय समितिको कार्यालयमा मतगणनाको व्यवस्थापन मिलाइएको हो । उक्त स्थानमा मतदान केन्द्रहरुबाट कडा सुरक्षाबीच मतपेटिका ल्याउने कार्य सुरु भएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले राति ९ बजेसम्म सबै स्थानबाट मतपेटिका आइपुग्ने अनुमान गरेको बताए । उननले भने, ‘मतपेटिका सबै आइसकेलगत्तै सर्वदलिय बैठक राख्छौं । सकभर रातिबाटै मतगणना सुरु गर्ने तयारी छ ।’

उनका अनुसार मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा समेत जडान गरिएको छ । मतगणनास्थल अत्यन्त व्यवस्थित बनाएका छौं, पत्रकारका लागि पनि ठाउँ छुट्याएका छौं । यहाँ कुनै किसिमको गडबड हुने अवस्था रहदैन’, उनले भने ।

यस क्षेत्रमा १ लाख ५ हजार ११ मतदाता छन् । जसमध्ये ६१ प्रतिशत मतदाताले मतदान गरेका हुन् । मंसिर ४ मा २ दशमलव ५६ प्रतिशत बढीले मतदान गरेका थिए ।