बुहारीको हत्या गरेको भन्दै घरमा आक्रमण, तनावग्रस्त

बुहारीको हत्या गरेको भन्दै घरमा आक्रमण, तनावग्रस्त

महोत्तरीको गौशालामा महिलालाई विष सेवन गराएर हत्या गरेको भन्दै स्थानीयले प्रदर्शन गर्दा तनाव भएको छ। आरोपितको घरमा स्थानीयले आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। 

सोमबार गौशाला नगरपालिका ४ मलहनिया पोखरी टोलमा आरतीदेवी साहलाई परिवारका सबैले मिलेर विष सेवन गराएर हत्या गरेको भन्दै आरतीको माइती पक्ष प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरुले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गर्दै आरोपितको घरमा आक्रमण गर्न खोजेपछि प्रहरीले रोक्न हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

करिब डेढ सयको समूहमा रहेका आक्रोशितको भिडले मृतकका श्रीमानको घरमा आक्रमणको प्रयास गरेको थियो। उनीहरुलाई रोक्ने क्रममा प्रहरीले २२ राउन्ड हवाइ फायर गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। 

नेपाल प्रहरीको तर्फबाट सानो पेस्तोलबाट ५ राउण्ड र सशस्त्र प्रहरीले एसएलआरबाट ४ राउण्ड तथा ग्यास गनबाट १३ सेल फायर गरेको प्रवक्ता गिरीले जानकारी दिए। भीड नियन्त्रणको क्रममा नेपाल प्रहरीका दुईजना र सशस्त्र प्रहरीका ३ जना सामान्य घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ।  

अहिले प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा ३५ जना र सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प रामनगर गौशाला महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक शंकर थापाको कमाण्डमा १४ जनाको टोली खटिएको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

गत शुक्रबार राति  करिब साढे ११ बजेको समयमा गौशाला ४ मलहनिया पोखरी टोल बस्ने उमेश साहकी श्रीमती २७ वर्षीया आरतीले घरायसी विवादका कारण मुसा मार्ने विषादी सेवन गरेकी थिइन्।

प्राथामिक स्वाथ्य केन्द्र गौशालामा सामान्य उपचार पश्चात थप उपचारको क्रममा ट्रमा अस्पताल बर्दिबासमा उनको शनिवार मृत्यु भएको थियो। 

सोही घटनामा आज मृतकका माइती पक्ष र स्थानीयले आरतीलाई ससुरापट्टीको घर परिवारले विष सेवन गराइ मारेको भन्दै सम्सी–माइस्थान भित्री सडक खण्डमा टायर बालेर बाटो अवरोध तथा नारा जुलुस गरेका थिए। 

अहिले सडक एकतर्फी रुपमा सुचारु भएको प्रहरीले जनाएको छ। 

यस्तै, आरतीका श्रीमान ३९ वर्षीय उमेश साहलाई ईलाका प्रहरी कार्यालय गौशालाको  हिरासतमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।