बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार मतान्तरले हराउँदै यादव विजयी भएका हुन्। 

अन्तिम मतपरिणामअनुसार विजयी यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका छन् भने पराजित जनमत पार्टीका उम्मेदवार कुशवाहालाई २३ हजार ३ सय ३४ मत प्राप्त भएको छ। यादव र कुशवाहाबीच मतान्तर ५ हजार ८ छ।

यो क्षेत्रमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल निकै ठूलो मतान्तरका साथ तेस्रो स्थानमा पुगेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले पनि निकै कम मत पाएका छन्। 

एमालेका उम्मेदवार पौडेलले १० हजार २ सय १६ मत पाउँदा खरेललाई २ हजार ८ सय २९ मत मात्र प्राप्त भएको छ। 

आम जनता पार्टीका अरुण ज्ञवालीले पनि खरेलसँग प्रतिस्पर्धी मत पाएका छन्। आम निर्वाचनपछि  स्थापित आम जनता पार्टीका उम्मेदवार ज्ञवालीलाई २ हजार ७ सय ३८ मत प्राप्त भएको छ। यो दल एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारका रुपमा रौतहट–३ बाट निर्वाचित पूर्व माओवादी नेता प्रभु साहले स्थापना गरेका हुन्।

गत मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि यो निर्वाचन क्षेत्र खाली भएको थियो। सोही कारण यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो।