न्यायिक पुनर्स्थापनाका लागि अधिकार यात्रा हुने

न्यायिक पुनर्स्थापनाका लागि अधिकार यात्रा हुने

धनगढी । मुक्त कमैया, बुक्रही र कम्लहरीको न्यायिक पुनर्स्थापनाका लागि अधिकार यात्रा कार्यक्रम गरिने भएको छ ।

मुक्त कमैया समाजले कमैया मुक्ति भएको लामो समय बित्दा पनि पुनःस्थापना हुन नसकेको भन्दै कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा बिहिबारदेखि सो यात्रा गर्न लागेको हो ।

मुक्त कमैया समाज कैलालीले टीकापुरदेखि र कञ्चनपुरले भिमदत्त नगरपालिकाबाट यात्रा शुरु गरि कैलालीको गोदावरीमा भेला गरि नयाँ कार्यसमिति गठन गर्ने जनाएको छ ।

बुधबार धनगढीमा पत्रकार सम्मेलन गरि समाजले अधिकार यात्राका बारेमा जानकारी गराएको छ । सरकारले कमैया र कम्लहरी पहिचान गर्दा पहिचान प्रक्रिया गलत हुँदा धेरै कमैया छुटेका समाजले जनाएको छ ।

सरकारको तथ्यांकमा कञ्चनपुरमा एक जना पनि नछुटेको देखिए पनि कैलालीमा तीन सय ८० जनाले जग्गा प्राप्त गर्न नसकेको तथ्यांक रहेको छ । तर, समाजले कैलालीमा नौ सय ५३ र कञ्चनपुरका एक सय २९ जना मुक्तकमैयाको पुनस्र्थापना बाँकी रहेको बुधबार समाजका केन्द्रीय अध्यक्ष पशुपती चौधरीले जानकारी दिए ।
सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । यस्तै २०७० असार १३ गत कमलरीको मुक्तिको घोषणा गरेको थियो । मुक्तकमैया समाजले दिएको जानकारी अनुसार सुदूरपश्चिममा १२ हजार ९ सय २४ मुक्तकमैया परिवार पुनस्र्थापित भएका छन् ।

भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ८ कमलरीको तथ्यांक संकलन गरेकोमा १ हजार १ सय ५८ जनाले परिचय पत्र पाएका थिए । मुक्त कम्लहरी मञ्चले अझै सुदूरपश्चिममा १ हजार ७ सय ३५ छुटेका छन् ।

समाजले भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गठन गरेको मुत्तकमैया, कम्लहरी, हलिया र हरवाचरवा बस्तु स्थिति अध्ययन समितिको प्रतिवेदनका आधारमा निर्माण गरिएको कमैया श्रमिक पुनःस्थापना कार्यविधि २०७९ लाई सरकारले मन्त्रिपरिषदबाट पास गरी सो कार्यविधि वमोजिम पुनस्र्थापना कार्य गर्नुपर्ने माग अगाडी सारेको छ ।

संघीय सरकारले २०७६ जेठमा कमैया तथा कमलरीको पुर्नस्थापना कार्यलाई स्थानीय तहमा हस्तान्तरण गरेको हुँदा स्थानीय तहले आफ्ना पालिकामा कमैया पुर्नस्थापना कार्यविधि निर्माण गर्नुपर्ने माग गरेका छन् । समाजले दवाव सोरुप कैलाली र कञ्चनपुरमा साईकल यात्रा निकाल्ने जनाएको छ ।

शुक्रबार देखि कैलाली र कञ्चनपुरका विभिन्न स्थानना साईकल यात्रा निकाल्ने मुक्तकमैया समाज कैलालीका अध्यक्ष भरत चौधरीले बताए । उनले आफ्नो मागको सुनुवाइ होस् भन्ने उद्देश्यसाथ यात्रा निकाल्ने लागेको बताए ।