उपनिर्वाचनः ५६ जना उम्मेदवारको जमानत जफत

उपनिर्वाचनः ५६ जना उम्मेदवारको जमानत जफत

काठमाडौं । बैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा ५६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन आयोगका अनुसार विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको हो । उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएकामा ५६ उम्मेदवारको जमानत जफत भएको हो ।

बैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन भएको थियो । तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित हुँदा चितवन–२ मा रास्वपाकै उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन ।

तीन उम्मेदवार निर्वाचित हुँदा बाँकी प्रतिस्पर्धीमध्येका ६ उम्मेदवारले मात्रै जमानत जोगाउन सके । प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ ।

जसअनुसार उम्मेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने बाध्यता छ । जसअनुसार तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालबाहेक अरूले जमानत जोगाउन सकेनन् ।

यसै गरी चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेबाहेक अरूले जमानत जोगाउन सकेनन् । यसै गरी बारा २ मा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा र एमालेका रमेश पुरुषोत्तम पौडेलबाहेक अरूले जमानत जोगाउन सकेनन् ।