हिमालयन शेर्पासँग लिग लिडर जावलाखेल स्तब्ध

हिमालयन शेर्पासँग लिग लिडर जावलाखेल स्तब्ध

काठमाडौं । पिस्टोने मुताम्बाको दुई गोलप्रेरित हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार लिग लिडर जावलाखेल युथ क्लबलाई २(१ को नतिजामा पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशथर रंगशालामा पहिलो हाफमा २(० को अग्रता लिएको हिमालयन शेर्पाले दोस्रो हाफमा त्यसको बचाउ गर्दै महत्त्वपूर्ण तीन अंक हासिल गर्‍यो।

विश्वास श्रेष्ठले बायाँ तर्फबाट प्रहार गरेको कर्नरमा ६ यार्ड बक्स भित्र रहेका मुताम्बाले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए।

त्यसको ९ मिनेट नबित्दै मुताम्बाले नै पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारेका थिए।

पहिलो हाफमा सम्हालिन नसकेको जावलाखेलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो। सोही क्रममा केही अवसर सिर्जना गरे पनि एक गोल मात्रै गर्न सफल भयो।

एन्का्टो मासोयाबीले ७२औं मिनेटमा जावलाखेलका लागि एक गोल फर्काएका थिए। समिराज थोकरले दायाँतर्फबाट दिएको पासलाई पेनाल्टी एरियामा उत्कृष्ट रन बनाएका मासोयाबीले ट्याप इन गरेका थिए।

त्यसपछि पनि गोलका केही अवसर सिर्जना गरेको जावलाखेलले फिनिसिङमा चुक्दा हार टार्न सकेन।