एसपीए काण्ड:  छात्रामाथि भएको दुर्व्यवहारप्रति संघ संस्थाको ध्यानकर्षण

एसपीए काण्ड:  छात्रामाथि भएको दुर्व्यवहारप्रति संघ संस्थाको ध्यानकर्षण

धनगढी। धनगढीको एसपीए कलेजका छात्राहरुमाथि भएको यौन दुर्व्यवहारप्रति बिभिन्न संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

कलेजमा अध्ययनरत छात्राहरुमाथि शिक्षकबाट गरिएको यौन दुर्व्यवहारको घटना प्रति महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ-संस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको भन्दै स्थानिय निकाय र जिल्ला प्रहरीमा पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा छात्राहरुमाथि अश्लिल शब्द प्रयोग गर्ने, रातीको समयमा भिडियो कल गरेर अनुहार देखाउनका लागि दबाव दिने, फोन गरेर कोठामा बोलाउने नगएमा सोही कुरालाई जोडेर कक्षामा तनाब दिने, आफुले भने बमोजिम नगरे परीक्षामा नम्बर कम दिने, जस्ता कार्य गरी पटक पटक यौन द्रुव्यवहार गरेको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।यस घटनाले बालिका तथा किशोरीको सुरक्षित, सम्मानित र स्वतन्त्रता पुर्वक बाँच्ने अधिकारको खण्डित गरेको जनाइएको छ।

घटनाको सत्य, तथ्य छानविन गरी घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही, प्रभावित बालिकाको सुरक्षाको सुनिश्चितताको लागि महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले जोडदार माग गरेको ध्यानाकर्षण पत्र मार्फत जनाएका छन्। आगामी दिनमा यस्ता घटना हुन नदिन ध्यानाकर्षण गरिएको जनाइएको छ। उक्त ध्यानाकर्षण पत्र धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी राना र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दलाई बुझाएका छन् ।