अमेरिकाको टेक्सासमा फेरि गोली चल्यो, एक बालकसहित पाँचको मृत्यु

अमेरिकाको टेक्सासमा फेरि गोली चल्यो, एक बालकसहित पाँचको मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सासमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ ।  अर्ध स्वचालित हतियारको अभ्यास गर्ने क्रममा विवाद हुँदा एक व्यक्तिले आफ्ना छिमेकीको हत्या गरेको हुन सक्ने टेक्सास प्रहरीको भनाइ छ ।

उक्त घटनाका सबै पीडित हुन्डुरसका रहेका प्रहरी अधिकारीले जानकारी दिएका छन् । साथै आठ वर्षीय बालकको पनि उक्त गोली काण्डमा हत्या भएको छ ।

उत्तरी हाउस्टोनको सान जसिन्टो काउन्टीको सानो सहर क्लेभल्यान्डमा शुक्रबार राति उक्त घटना भएको हो ।

घटनाका संदिग्ध व्यक्ति मेक्सिकोका नागरिक भएको विश्वास गरिएको छ । ३८ वर्षीय उनको नाम फ्रान्सिस्को ओरोपेज रहेको र आक्रमणपछि उनी भागेको बीबीसीले उल्लेख गरेको छ । उनीमाथि हत्याको पाँच मुद्दा दर्ता गरिएको छ । ती व्यक्ति हतियारसहित नजिकैको जंगलमा लुकेर बसेको विश्वास गरिएको छ । प्रहरीले कुकुर र ड्रोन प्रयोग गरेर ती व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

अनुसन्धानकर्ताकाअनुसार पीडितले बच्चा सुताउन लागेकाले ओरोपेजलाई गोली नचालाउन आग्रह गरेका थिए । गोलीको आवाजले बच्चा सुत्न नसक्ने भन्दै आग्रह गरिएको थियो । तर उनले आफ्नो घरको आँगनमा गोली चलाएको भन्दै आफ्नो निजी निवासमा आफूलाई जे मन लाग्छ त्यो गर्न कसैले रोक्न नसक्ने धम्की दिएका थिए । सोही क्रममा विवाद हुँदा गोली चलेको अनुसन्धानमा खटिएमा अधिकारीहरुको भनाइ छ ।

अमेरिकामा घरमा बन्दुक राख्न पाउने कानुनको लामो समयदेखि विरोध हुँदै आएको छ । यद्यपि, यसलाई सरकारले रोक्न सकेको छैन । बन्दुक आक्रमणको घटना बढ्दै गए पनि बन्दुक राख्न पाउने अधिकारमाथि कानुनी रुपमा बन्देज लगाउने कदम अगाडि बढ्न सकेको छैन ।

टेक्सासमै किशोर किशोरीको पार्टीका गोली चल्दा ९ जना घाइते भएको एक दिन पछाडि नै यो घटना घटेको हो ।

यस्तै, दुई हप्ता अगाडि मात्रै अलाबामामा बर्थ डे पार्टीका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको थियो ।