उग्रतारा–मेलौली सडक कालोपत्रे गर्न सुरु

उग्रतारा–मेलौली सडक कालोपत्रे गर्न सुरु

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना उग्रतारा– मेलौली सडक अन्तर्गत थप १० किलोमिटर सडक कालोपत्रे सुरु भएको छ । डडेलधुराको उग्रतारा मन्दिरको फेददेखि बैतडीको पञ्चेश्वर गाउँपालिका जोड्ने राजमार्ग निर्माण सुरु भएको तीन दशकपछि थप १० किलोमिटर कालोपत्रे हुन थालेको हो ।

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेलधुराको करिब २३ करोड रुपियाँ लागतमा कालोपत्रे हुन थालेको हो । पूर्वाधार विकास कार्यालय प्रमुख नवराज रावलले अजयमेरु गाउँपालिकाको–१, बयलडाँडादेखि–२, चमडासम्म कालोपत्रे गर्ने कार्य सुरु भएको बताए । ‘डीबीएस टी’ प्रविधिमा कालोपत्रे हुन थालेको यो सडकको चौडाइ भने पाँच मिटर रहेको छ । केएस कन्स्ट्रक्सनमार्फत कालोपत्रेको काम भइरहेको छ, रावलले भन्नुभयोे, “चालु आर्थिक वर्षभित्रै पूरा गर्ने गरेर सम्झौता भएको छ ।” यसअघि उग्रतारादेखि बयलडाँडासम्म आठ किलोमिटर सडक सोही कम्पनीले कालोपत्रे गरेको हो ।

डडेलधुरा र बैतडीको तल्लो स्वराज क्षेत्र पञ्चेश्वर जोड्न उग्रतारा–मेलौली सडकको योजना अघि बढाइएको थियो । यसअघि पूर्वाधार विकास कार्यालयकै कुल १२ करोड ४५ लाख रुपियाँ लागतमा आठ किलोमिटर सडक कालोपत्रे भएको थियो ।

सडक कालोपत्रे भएपछि अजयमेरु गाउँपालिका–२ को चमडा क्षेत्रमा यातायात सहज हुनेछ ।