दार्चुलामा बिओपी थप्दै सशस्त्र प्रहरी

दार्चुलामा बिओपी थप्दै सशस्त्र प्रहरी

धनगढी । सशस्त्र प्रहरी बलले भारतसँगको सीमामा बोर्डर आउटर पोस्ट (बिओपी) थप्न लागेको छ। सीमा सुरक्षा सुदृढीकरण र राजस्व चुहावट नियन्त्रणका लागि बिओपी थप्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ। हालकै स्रोत–साधन र जनशक्तिबाट व्यवस्थापन गरी बिओपी थप्न लागिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए।

आगामी साताभित्र दार्चुलाको सुनसेरामा बिओपी उद्घाटन गर्न लागिएको छ। सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील क्षेत्रमा बिओपी थप्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ। गृह मन्त्रालयबाट बिओपी स्थापनाको निर्णय भइसकेपछि पहाडी जिल्लामा कार्यरत जनशक्तिलाई बिओपीमा खटाउन लागिएको हो। 

सीमा सुरक्षाको डेडिकेटेड फोर्स भएकाले सीमामा बिओपी थप्दै लैजाने संगठनको योजना छ। करिब ३६ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी ७७ जिल्लामै फैलिएको छ। विपत्, विशिष्ट व्यक्तिको सुरक्षादेखि सीमा सुरक्षासम्मको जिम्मेवारी हुँदा दरबन्दी अपुग भएको छ।

पछिल्लो केही महिनायता राजस्व ह्वात्तै घटेपछि सीमामा अझै कडाइ गर्नुपर्ने दबाब सुरक्षा निकायमाथि छ। अर्धसैन्य संरचनाको यो संगठनलाई नयाँ नेतृत्वले बर्ड (बोर्डर, इन्टरनल सेक्युरिटी, रायट कन्ट्रोल तथा डिजास्टर मेनेजमेन्ट)को अवधारणामा अघि बढाउन लागिएको छ।