सिरियाको द्वन्द्व र कुटनीतिक सम्बन्धबारे छलफल गर्न क्षेत्रीय बैठक

सिरियाको द्वन्द्व र कुटनीतिक सम्बन्धबारे छलफल गर्न क्षेत्रीय बैठक

 

धनगढी ।  सिरियामा लामो समयदेखि जारी द्वन्द्व तथा कुटनीतिक सम्बन्ध विस्तारबारे छलफल गर्न अरब देशका विदेशमन्त्रीहरू जोर्डनमा भेला भएका छन् । अम्मानमा हुन लागेको क्षेत्रीय बैठकमा इजिप्ट, इराक, जोर्डन, साउदी अरब र सिरियाका विदेशमन्त्री सहभागी हुँदैछन् ।

यो बैठक खाडी सहयोग परिषद्, जोर्डन, इराक र इजिप्टका देशहरूको परामर्श बैठकको निरन्तरता हो, जुन साउदी अरबले गएको अप्रिलमा आयोजना गरेको थियो । सन् २०११ मा द्वन्द्व सुरु भएदेखि नै राजनीतिक रुपमा एक्लिएका सिरियाका राष्ट्रपति बशर अल असदले अरब क्षेत्रमा कुटनीतिक सम्बन्ध सुधारमा भएको प्रगतिको लाभ लिने देखिएको छ ।

साउदी अरबको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा सिरियामा जारी सङ्कट अन्त्य गर्ने प्रयासमा अरब देशले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । सिरियामा भएको १२ वर्ष लामो युद्धका कारण झण्डै पाँच लाख मानिसको ज्यान गइसकेको छ । लाखाैँ मानिस शरणार्थी वा आन्तरिक रूपमा विस्थापित भएका छन् ।