सम्भवतः मुलुकमै पहिलो पटक कैलालीको घोडाघोडी नगरपालिकाले फ्री वाइफाइसहित डिजिटल नागरिक बडापत्र र आपतकालीन एप्सको सफल परीक्षण गरी सेवा तथा सूचना दिन थालेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर नगरपालिकाले बिहीवारदेखि आफ्नै साधनस्रोतमार्फत सेवाको परीक्षण गरी कार्यान्वयनमा समेत जुटेको हो ।
नगर क्षेत्रका सबै वडा कार्यालयमा आफ्नै अप्टिकल फाइबर सहितको इन्टरनेट तथा इन्ट्रानेट जडान सम्पन्न गरेको नगरपालिकाले तत्काल नगर क्षेत्रका विभिन्न ५ स्थानमध्ये ३ स्थानमा फ्री वाइफाइ वितरणको सफल परीक्षण गरेको नगरपालिकाका सूचना अधिकारी एंव आईटी अफिसर रामप्रसाद चौधरीले जानकारी दिए । नगरपालिकाले यस्तो सेवा मुलुकमै पहिलो पटक भएको दाबी गरेको छ ।
उनको अनुसार नगरपालिकाको साडेपानी, सुखड बजार, पहलमानपुरमा फ्री वाइफाइ सेवाको परीक्षण गरेको छ । ५ सय १२ केबीपीएस गतिको इन्टरनेट सेवा एक पटकमा आधा घण्टाको लागि दिने जनाइएको छ । जसमा १ पटकमा २ सय ५४ जना प्रयोगकर्तालाई सेवा दिन सकिने आईटी अफिसर चौधरीले बताए । वैशाखभित्रै नगर क्षेत्रको सबै स्थानमा फ्री इन्टरनेट सेवा दिने पनि उनको भनाई थियो ।
नगरपालिकाको विकट मानिने वडा नम्बर ९ र १२ मा इन्टरनेट जडानको कार्य जारी रहेकाले सो २ वडामा जडानको कार्य सम्पन्न भएलगत्तै नगरको सबैतिर फ्री इन्टरनेट सेवा प्रवाह हुने नगरपालिकाले जनाएको हो ।
यसैबीच नगरपालिकाले डिजिटल नागरिक वडापत्रको उद्घाटन गरेको छ । सो ‘स्क्रिन टच’ प्रणालीको डिजिटल बोर्डमार्फत आफूले चाहेको फाँटबाट उपलब्ध हुने सेवाको अवस्थाबारे जानकारी लिन सकिने जनाइएको छ । सो बार्डमार्फत नगरपालिकाका जनप्रतिनिधि, पदाधिकारीसहित सबै सरोकारवालाको सम्पर्क नम्बर समेत पाउन सकिने भएको छ भने नगरपालिकाका विभिन्न विज्ञापन हेर्न सकिने छ र व्यक्ति तथा संघसंस्थाका विज्ञापन समेत हाल्न सकिने भएको छ ।
जसबाट समयको बचत हुनुको साथै सेवाग्राहीमा कुन फाँटबाट कस्तो सेवा लिनेबारे हुने सबै झन्झट तथा अन्योलता समेत हट्ने आशा लिएको आईटी अफिसर चौधरीले बताए ।
विपद् व्यवस्थापन कार्यका लागि घोडाघोडी नगरपालिकाका वासिन्दाले मोबाइल एप्स प्रयोग गरेर ५ सेकेन्डभित्रै सुरक्षा निकायसहितको आपतकालीन सेवा प्रवाह गर्ने निकायमा आफू रहेको स्थान सहितको सूचना (अलर्ट) पठाउन सक्ने भएका छन् । मोबाइल एप्स प्रविधिको सफल परिक्षण गरेको बताउँदै आईटी अफिसर चौधरीले केही समयभित्रै नगरबासीले मोबाइल एप्समार्फत प्रहरी, एम्बुलेन्स र दमकल सेवा पाउने भएका छन् ।
अनलाइन र अफलाइन दुवै प्रक्रियामार्फत सेवाग्राहीले एप्समा उपलब्ध बटन थिचेमा सम्बन्धित निकायमा त्यसको जनाउ घण्टी जानेछ । उदाहरणको लागि प्रहरी सेवा आवश्यक परेका नगरबासीले एप्सको प्रहरी चिह्नमा थिचेपछि नगरपालिकाकास्थित प्रहरी इकाईमा जनाउ घण्टी बच्ने छ । घण्टी बजेपछि जीपीएस लोकसन हेरेर सम्बन्धित व्यक्ति तथा स्थानमा प्रहरी पुग्नेछन् ।
तर सो सेवा लिन नगरबासी भएकै हुनुपर्ने र नगर क्षेत्रभित्रै रहेको हुनुपर्ने जनाइएको छ । जसको लागि नगरबासीलाई विशेष खालको व्यक्तिगत परिचयपत्र उपलब्ध गराइने छ । जसको लागि कार्यविधि बनाएर केही समयमा लागू गरिने जनाइएको छ ।
नगर प्रमुख ममताप्रसाद चौधरीले नगरपालिकालाई प्रविधिमय बनाउन कार्य थालेको बताए । जसको लागि पूर्वाधार जडानको कार्य जारी रहेकाले आउँदो आर्थिक वर्ष २०७६÷२०७७ देखि पूर्ण कार्यान्वयनमा जाने योजनामा रहेको नगर प्रमुख चौधरीले जानकारी दिए ।