हत्या अभियोगमा फरार एमाले सांसद कोइरी निलम्बित

हत्या अभियोगमा फरार एमाले सांसद कोइरी निलम्बित

काठमाण्डौ ।  हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्नुभएको छ ।

सभामुख देवराज घिमिरेले कोइरीलाई निलम्बन गर्नुभएको र यो जानकारी संसद्को सूचना पार्टीमा टाँसिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अब कोइरी फरार रहुन्जेल र मुद्दाको फैसला नहुन्जेल सांसद पदमा रहन अयोग्य हुनुभएको छ । यसअघि कोइरीलाई पक्राउ गर्नका लागि सहयोग माग्दै प्रहरी प्रधान कार्यालयले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको थियो ।

मधेस आन्दोलनका बेला २०७२ भदौ २५ गते आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । विकको हत्यामा कोइरीको संलग्नताबारे उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

फरार रहेकै अवस्थामा कोइरी नेकपा एमालेको तर्फबाट महोत्तरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।