छाङरुमा हिमपात जारी, ७ जना बचे

छाङरुमा हिमपात जारी, ७ जना बचे

धनगढी । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा अहिले पनि हिमपात जारी छ। अस्तिदेखि शुरु भएको हिमपात आज पनि निरन्तर भइरहेको हो।

हिमपातकै कारण बोलिनमा आज (मंगलबार) दिउँसो २ः४५ बजे हिमपहिरो पनि गएको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले हिमपहिरोमा परेर ५ जना बेपत्ता रहेको जानकारी दिए।

उनले भने, ‘अहिले पनि हिमपात जारी छ । घटनास्थलमा प्रहरी पनि जान सक्ने अवस्था छैन। करिब ५ फिट हिउँ जमेको छ। उद्धारमा खटिएको टोली पनि अँध्यारो भएर कठिनाइ भएपछि फर्किने अवस्थामा छ।’

यस्तै उनले बेपत्ताहरूमध्ये ३ जना महिला डोटीको बुडरका रहेका र एक पुरुष दार्चुलाकै दुँहु गाउँपालिका–पोक्सीका भएको खुलेको बताए। उनीहरूको पूर्ण परिचय भने खुल्न बाँकी छ। त्यहाँ निरन्तरको हिमपातले गर्दा उद्धार कार्यमा कठिनाइ भएको उनको भनाइ छ।

उद्धारका लागि सशस्त्र प्रहरीका डीएसपी ईश्वरी भट्ट नेतृत्वको टोली र नेपाल प्रहरीको टोली हिमपात भएको ठाउँमा गएको छ। यार्सागुम्बा संकलन गर्न गएका १२ जना हिमपहिरोमा परेका थिए।

तीमध्ये ५ जना अहिले अनि बेपत्ता छन् भने ७ जना भने कुशल भेटिएका छन्। हिमपहिरो आउँदा आफूहरू भागेर जोगिएको उनीहरूले बताएका छन्।

यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस हिमपहिरोमा परेका थिए ।