दार्चुला हिमपहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुल्यो, हिमपातले खोजी कार्यमा समस्या

दार्चुला हिमपहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुल्यो, हिमपातले खोजी कार्यमा समस्या

दार्चुला। दार्चुलामा मंगलबार हिमपहिरोमा परी बेपत्ता भएकाहरुको पहिचान खुलेको छ । जिल्लाको व्याँस गाउँपालिका –१ भोलिङ भन्ने स्थानमा हिमपहिरोमा परेर ५ जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ बर्षीया कमला कुँवर, उनका छोरा १८ बर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ बर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ बर्षीया ईश्वरी थापा र सोही ठाउँका १५ बर्षीया छिम्मी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

यार्सा संकलनका लागि १२ जनाको समूहमा रहेका मध्ये ७ जनाको सकुशल उद्धार गरेर ल्याइसकिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । १२ जना मध्ये ५ जना तल फर्कने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएका हुन् । 

बेपत्ता भएकाहरुको खोजी कार्यका लागि मंगलबारदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको भएपनि हिमपात भइरहेका कारण समस्या भएको प्रहरी निरीक्षक सिंहले बताए । 

सशस्त्र प्रहरीको ५० नम्बर गुल्म छाङरुबाट सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टको नेतृत्वमा टोली खटिएको छ तर लगातार हिमपात भइरहेकाले खोजी कार्य प्रभावित भएको बताइएको छ ।