डडेल्धुरामा वर्षाले चिसो बढेसँगै गहुँ पाक्न ढिलाइ

डडेल्धुरामा वर्षाले चिसो बढेसँगै गहुँ पाक्न ढिलाइ

डडेलधुरा । तीन दिनदेखि लगातार वर्षा भएसँगै पहाडी क्षेत्रमा चिसो बढेको छ । चिसोका कारण गहुँ पाक्न ढिलाइ भएको छ । पाकेको गहुँ बाली थन्क्याउन पनि समस्या भएको गुनासो किसानको छ ।

लगातारको वर्षापछि मध्यपहाडी जिल्ला डडेलधुराको तापमान समेत घटेको छ । चिसो बढेकाले पहाडी क्षेत्रका खेतबारीमा लगाइएको गहुँ र जौ बाली पाक्न र पाकेको बाली पनि भित्र्याउन समस्या भएको छ । मकै छर्ने समय भइसकेको छ तर वर्षासँगै चिसोले गहुँ, जौ खेती पाक्न ढिलाइ भएको स्थानीय जयबहादुर भाटले बताए ।

उनले भने ‘चैत महिनाको दोस्रो साता भएको वर्षाले खेतीपातीलाई केही राहत भयो । तर हाल लगातारको वर्षाले साग तरकारी र मकै, भटमासका लागि राम्रो भए पनि गहुँ र जौ पाक्न ढिलाइ भएको छ ।’ चैत, वैशाख महिनामा पाक्ने काफलसमेत यस वर्ष पाक्न नसकेको उनले बताए ।

हावापानी फिल्ड कार्यालय डडेलधुराका प्रमुख श्याम सुनारका अनुसार आगामी बुधबारसम्म वर्षा जारी रहने भए पनि मङ्गलबार बेलुकीदेखि केही बदली भई कम हुँदै जाने पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले मङ्गलबार बिहान जारी गरेको सूचनाअनुसार देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागमा एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।