महाकाली पुलमा आवागमन पुनः सञ्‍चालन

महाकाली पुलमा आवागमन पुनः सञ्‍चालन

कञ्चनपुर । एक महिनादेखि बन्द महाकालीको पक्की पुलमा पैदल यात्रा तथा सवारी आवागमन पुनः सञ्चालन भएको छ । पुलको दुवैतर्फ विंग्स वाल (पर्खाल) निर्माण गर्न चैत दोस्रो सातादेखि आवागमन बन्द थियो ।

निर्माणको काम सकिएपछि आवागमन सञ्चालन भएको महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए ।

आवागमन सञ्चालन भएपछि महाकालीपारि रहेको कञ्चनपुरको दोधारा–चाँदनीका बासिन्दालाई महेन्द्रनगरतर्फ आउजाउ सहज भएको छ । पुल बन्द हुँदा चारपांग्रे सवारीसाधन सञ्चालनमा निकै समस्या थियो । दुईपांग्रे सवारीसाधन र पैदलयात्रु भने झोलुंगे पुलबाट आउजाउ गरेका थिए । ‘पुल खुलेपछि अब केही सजिलो भएको छ,’ दोधारा–चाँदनीका महेश चन्दले भने, ‘पुल बन्दका बेला सवारीसाधन नचल्दा निकै समस्या भएको थियो ।’

पुलको पहुँच मार्गको काम पनि अन्तिम चरणमा पुगेको छ । साढे ८ किमि सडकमध्ये अब १४ सय मिटर मात्रै सडक निर्माण गर्न बाँकी छ । पुल ८ सय मिटर लामो छ । पुलको दुवैतर्फ निर्माण हुने पोखरीको काम पनि आधाजति सकिएको इन्जिनियर पाण्डेयले बताए । पुलको दुवैतर्फ ६ सय मिटर चौडाइ र २७ सय मिटर लम्बाइका पोखरी निर्माण गरिन लागेको हो । ‘काम धमाधम भइरहेको छ । असारअगावै पोखरीको काम पनि सक्ने लक्ष्य छ,’ इन्जिनियर पाण्डेयले भने । उनका अनुसार निर्माण हुन बाँकी पहुँच मार्गको काम पनि पोखरी निर्माण क्षेत्रमा छ । पोखरी निर्माणपछि मात्रै पहुँच मार्गको काम सकिने उनले बताए । पुलको दुवैतर्फ निर्माण हुने पोखरीको बाँध निर्माणका लागि डिजाइन परिवर्तन भएर यसै वर्षदेखि काम सुरु भएको हो ।

सुरुमा बाँध निर्माणका लागि २ सय ५० केजीभन्दा बढी तौलका ढुंगा प्रयोग गरेर बनाउने डिजाइन थियो । महाकालीमा ५ लाख क्युसेकसम्मको बहावले उक्त तौलको ढुंगा बगाउन नसक्ने अनुमानका साथ डिजाइन तयार पारिएको थियो । तर निर्माण कम्पनीले लामो समयसम्म पनि ठूलो ढुंगा पाएन । ढुंगा नपाइएपछि डिजाइन परिवर्तन गरेर कंक्रिट र तारजालीमा ढुंगा भरेर बाँध निर्माण गर्न डिजाइन परिवर्तन गरिएको हो । परिवर्तित डिजाइनअनुसार नै काम भइरहेको इन्जिनियर पाण्डेयले बताए ।

महाकालीमा निर्माण गरिएको चार लेनको पक्की पुलले दोधारा–चाँदनीलाई सडक यातायातसँग मात्र नजोडेर सुक्खा बन्दरगाहलाई पनि सहयोग पुग्नेछ । दोधारा–चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा यो पुललाई लिइएको छ ।

दोधारा–चाँदनी नगरपालिका–१ को मायापुरी र गौरीशंकर सामुदायिक वनमा सुक्खा बन्दरगाह निर्माणका लागि डीपीआर निर्माणको काम भइरहेको छ । पछिल्लो समय भारत सरकारले सुक्खा बन्दरगाह निर्माण गर्ने समझदारी अगाडि बढेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भारततर्फ पनि राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्म पहुँच मार्ग निर्माणका लागि ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।