बादलका छोरा प्रतीक भन्छन्– शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, अनुसन्धानमा सहयोग गर्छु

बादलका छोरा प्रतीक भन्छन्– शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन, अनुसन्धानमा सहयोग गर्छु

काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा अनावश्यक रुपमा आफ्नो नाम मुछिएको दाबी गरेका छन्। 

आफ्नो नाममा पक्राउ पूर्जी जारी भएपछि एक विज्ञप्ति जारी गर्दै थापाले आफूविरुद्ध अहिले पनि ‘गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरु लगाउने क्रम’ जारी रहेको बताएका छन्।  

थापाले शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। तर संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरुप अनुसन्धान प्रक्रियालाई इमान्दारीपूर्वक सहयोग गर्ने थापाले बताएका छन्। 

‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दुछु। तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ थापाले विज्ञप्तिमा भनेका छन्। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं रकम ठगी गरेको विषयमा प्रहरीले केही महिना अगाडिदेखि अनुसन्धान सुरु गरेको थियो। 

यो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव (हाल उपराष्ट्रपति कार्यालयका सचिव) टेकनारायण पाण्डे, पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत ८ जना पक्राउ परेका छन्। 

प्रहरीले पूर्वउपप्रधानमन्त्री रायमाझीको समेत संलग्नता रहेको भन्दै अनुसन्धान अगाडि बढाएपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ। यस्तै, तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। 

Prateek_thapa_release1683181282.jpg