भर्ना अभियान सकिनै लाग्दा कक्षा ८ को मौका परिक्षा

भर्ना अभियान सकिनै लाग्दा कक्षा ८ को मौका परिक्षा

धनगढी । धनगढी उपमहानगरपालिकामा कक्षा ८ को परिक्षा चैत ५ गतेदेखि शुरु भयो । उपमहानगरपालिकाले सो परिक्षाको हतार–हतारमा बैशाख ३ गते नतिजा प्रकाशन गर्यो । सो क्रममा उपमहानगरपालिकाका १७ सामुदायिक र १ संस्थागत विद्यालयको नतिजा शून्य रहेको परिणाम सार्वजनिक गरेको थियो । वैशाख १ देखि भर्ना अभियान शुरु गरेको उपमहानगरपालिकाले कक्षा ८ को नतिजा, त्यसले विद्यार्थीमा पार्ने प्रभाव, विद्यालय भर्ना हुने दर लगायतमा ध्यान दिएको देखिएन् ।

धनगढी उपमहानगरपालिकाले मिडियाबाजी गर्नुभन्दा नयाँ शैक्षिक सत्र शुरु हुनु अगावै नतिजा प्रकाशन, पुनर्योग तथा मौकापरिक्षा सञ्चालन गरिसक्नुपर्ने थियो । तर, उपमहानगरपालिका कक्षा ८ को मौकापरिक्षा नयाँ शैक्षिक सत्र भर्ना अभियान सकिनै लाग्दा अघि बढाउने निर्णय गरेको छ । उपमहानगरपालिकाले कक्षा ८ को मौका परिक्षा वैशाख २९ र ३० गते सञ्चालन गर्ने गरि केन्द्र तोकेको छ । 

नयाँ शैक्षिक सत्रका लागि बैशाख महिना विद्यार्थी भर्ना अभियान हो । कक्षा ८ मा उत्तिर्ण भएका विद्यार्थीहरु कक्षा नौ मा अध्यापन गर्न जाँदा उनीहरुको आधाभन्दा पढाई प्रभावित हुने शिक्षकहरु बताउँछन् । ‘वैशाख अन्तिममा मौकापरिक्षा हुँदैछ । कहिले नतिजा प्रकाशन होला र कहिले विद्यार्थी भर्ना होलान । यसले त विद्यार्थीको पढाई नै प्रभावित हुन्छ’ शिक्षक तेज सिंहले भने ।

उनका अनुसार अहिले पनि विद्यालयमा कक्षा ८ का आधा प्रतिशत पनि विद्यार्थी विद्यालयमा भर्ना भएका छैनन् । यससंगै अहिले कक्षा ८ मा अनुत्तिर्णमा परेका विद्यार्थीहरु नयाँ विद्यालयमा भर्ना हुन चाहिरहेका छन । ‘सामुदायिक विद्यालयमा गत वर्षको तुलनामा आधा प्रतिशत विद्यार्थी पनि भर्ना भएका छैनन्’ उनले भने –‘नतिजाको प्रभाव भन्दा पनि उपमहानगरपालिकाले समयमै सबै प्रक्रिया नपुर्याउनु कमजोरी देखिएको छ । अहिले विद्यालयबाट विद्यार्थी ‘ड्रप आउट’ हुने दर बढ्ने देखिएको छ ।’

पुनर्योगले उत्तिर्ण संख्यासंगै मौकापरिक्षा दिने संख्या बढ्यो

धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित छ शारदा माध्यामिक विद्यालय । सो विद्यालयमा शुरुमा कक्षा ८ मा ११ जना विद्यार्थीमात्र कक्षा ९ मा जाने गरि उत्तिर्ण भएका थिए । भर्खरै उपमहानगरपालिकाले पुनर्योग गर्दा थप पाँच जना विद्यार्थी कक्षा नौ मा उत्तिर्ण भएको नतिजा सार्वजनिक भएको छ । शिक्षक सिंहले भने –‘एघार जनामा थप पाँच जना उत्तिर्ण भएका छन् भने ३४ जना मौकापरिक्षामा छन् । यसले संख्या बढाउँछ ।’

धनगढी उपमहानगरपालिकाले शून्य देखाएको विद्यालयमा पनि पुनर्योग गर्दा विद्यार्थी उत्तिर्ण बनेका छन् । दुर्गा आधारभुत विद्यालयमा शून्य रहेकोमा अहिले सोबाट दुई जना उत्तिर्ण बनेका छन भने मौकापरिक्षाका लागि पनि आठ जना विद्यार्थी छनौट भएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित मयुर बोर्डिङ स्कुलका सात जना विद्यार्थी अनुत्तिर्ण रहेकोमा अहिले पुनर्योगका क्रममा तीन जना उत्तिर्ण देखिएका छन् भने चार जना मौकापरिक्षामा छनौट भएको विद्यालयका सञ्चालक पदमबहादुर साउदले बताए ।

एकै विषयमा १६ जना उत्तिर्ण

धनगढी उपमहानगरपालिकाले पुनर्योग गर्दा एक विद्यालयका एक विषयमा १६ जनालाई उत्तिर्ण गराएको छ । एश्वर्य विद्या निकेतनमा कक्षा ८ मा कम्प्यूटर विषयमा अनुतिर्ण देखाएका विद्यार्थीमध्ये १६ लाई उत्तिर्ण बनाएको छ । 

उपमहानगरपालिकाले सार्वजनिक गरेको पुनर्योग नतिजामा एश्वर्य विद्या निकेतनमा नेपाली विषयमा आठ जना, अंग्रेजीमा १, गणितमा १२, सामाजिकमा सात, स्वास्थ्यमा सात, नैतिकमा दुई, पेसामा दुई, कम्प्यूटरमा १६ जना उत्तिर्ण भएको उल्लेख छ । 

यस्तै, शारदा माध्यामिक विद्यालयमा नेपाली विषयका आठ, अंग्रेजीका दुई, गणितका छ, सामाजिकका ११ जना, विज्ञानका आठ, नैतिकका एक, पेसाका पाँच, कम्प्यूटरका आठ विद्यार्थी उत्तिर्ण भएको उल्लेख छ ।

उपमहानगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुमा नेपालीका ८७ जना, अंगे्रजीका ५६, गणितका एक सय १३, सामाजिकका एक सय ५३, विज्ञानका ७३, स्वास्थ्यका ६३, नैतिकका २२, पेसाका एक सय २० र  कम्प्युटरका ८८ विद्यार्थीलाई पुनर्योगबाट उत्तिर्ण बनाएको छ ।

शिक्षक सिंह भन्छन् –‘पुनर्योग नतिजाले शुन्य नतिजाको विद्यालयमा कुनै उपलब्धी भएको छैन् ।’