बैतडीका सामुदायीक बिद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु

बैतडीका सामुदायीक बिद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा नं ९ मा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि पहल थालिएको छ । स्थानीय अभिभावकहरुसंग छलफल गरेर सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन थालिएको मेलौली नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष लोकराज भट्टले बताए । 

वडामा चारओटा सामुदायिक विद्यालय रहेका र ती सबै विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको वडा अध्यक्ष भट्टले बताए । अभिभावक र वडाबासीहरुको चाहना अनुसार नै अंग्रेजी माध्यबाट पठनपाठन शुरु गरिएको उनको भनाइ छ । उनले भने ‘सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि हामीले पहल शुरु गरेका छौं । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ भनेर हामी लागि परेका छौं ।’

पहिलो चरणमा चालु शैक्षिक सत्रमा वडामा चारओटै विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिसकेको वडा अध्यक्ष भट्टले बताए । कक्षा नर्सरीदेखि ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गराउँदा अभिभावकहरु पनि खुसी भएका उनले बताए । 

निजी विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन हुने भएकाले सामुदायिक विद्यालयहरुमा समेत यसको शुरुवात गर्न सकिन्छ भन्ने अवधारणा सहित वडाले यो निर्णय गरेको वडा अध्यक्ष भट्टको भनाइ छ । 

विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्नुभन्दा पहिला विभिन्न चरणमा अभिभावकहरुसंग छलफल गरिएको वडा अध्यक्ष भट्टले बताए । उनले भने ‘हामीले अभिभावकहरुसंग छलफल गरेरै अंग्रेजी माध्यममा पठनपाठन शुरु गरेका हौं । नेपाल सरकारले पनि अंग्रेजी माध्यममा पठनपाठन गर्न सकिने व्यवस्था गरेको छ ।’