गार्मेन्ट उद्योगलाई विद्यालय पोसाक बनाउने चटारो

गार्मेन्ट उद्योगलाई विद्यालय पोसाक बनाउने चटारो

धनगढी । धनगढीको गार्मेन्ट उद्योगमा विद्यालय पोसाक बनाउन चटारो छ । धनगढी उपमहानगरपालिका–५ जाई गाउँमा रहेको साथी गार्मेन्ट उद्योगलाई विद्यालयका लागि टी–सर्ट, सट्याकसुट, पाइन्ट लगायतको पोसाक बनाउन र बेच्न चटारो भएको हो । सो उद्योगले विद्यार्थीका लागि पोसाक तयार पारेर प्रदेशको नौ वटै जिल्लामा पुर्‍याउँदै आएको छ । 

नयाँ शैक्षिकसत्र सुरु भएपछि उद्योगमा पोसाक किन्नेको चाप बढेको छ । मागअनुसार पोसाक तयार गर्न नसकिरहेको उद्योगका सञ्चालिका रुक्मणि दाहालले बताए । उद्योगले विद्यालयलाई पोसाक पुर्‍याउन हम्मेहम्मे भइरहेको छ । सिजनमा सबैतिरबाट एकैसाथ माग हुने गरेकाले थेग्न धौधौ हुने गरेको उनको भनाइ छ । 

उद्योगमा १४ जना कारिगरले पोसाक सिलाउने काम गर्दै आएका छन् । सिजन चलेका कारण उद्योगमा व्यस्तता बढेको अर्का सञ्चालक लीलाधर दाहालले बताए ।

उनले धनगढीका प्रायः सबै विद्यालयसहित कञ्चनपुर र पहाडका सातवटै जिल्लाका विभिन्न विद्यालयको लागि पोसाक तयार गर्ने गरेको जनाउनुभयो । “हाम्रो गार्मेन्ट्सले नौ वटै जिल्लाका विद्यालयका लागि पोसाक बनाउने गरेको छ”, उनले भने। 

सिजनमा ३०/३५ लाख रुपियाँको कारोबार गर्ने गरेको उद्योग सञ्चालकले जनाएका छन् । उनीहरूका अनुसार चार वर्ष अगाडि मात्रै यो गार्मेन्ट उद्योग सञ्चालन गरिएको हो ।

स्थापनाको छोटो अवधिमै उद्योग फष्टाएको छ । उत्पादित सामानले राम्रो बजार पाएपछि लगानी थपिँदै लगिएको छ । ३० लाखबाट सुरु गरेको गार्मेन्ट उद्योगमा एक करोड रुपियाँ लगानी पुर्‍याइसकेको सञ्चालक दाहालले बताए । 

उनका अनुसार काठमाण्डौं बाट कच्चा पदार्थ ल्याएर कपडा यहाँ तयार पार्ने गरिएको छ । पछिल्लो समय धनगढीमा गार्मेन्ट उद्योग थपिँदै गएका छन् । हाल यहाँ २५/३५ वटा गार्मेन्ट उद्योग सञ्चालनमा रहेका छन् । -गोरखापत्र