इन्डियन प्रिमियर लिग: गुजरात मुम्बइसँग २७ रनले पराजित

इन्डियन  प्रिमियर लिग: गुजरात मुम्बइसँग २७ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स तेस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको खेलमा सूर्यकुमार यादव चम्किंदा मुम्बईले गत सिजनको च्याम्पियन गुजरातलाई २७ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको मुम्बइले सूर्यकुमारको सतक मद्तमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । २१९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनायो ।

मुम्बइका लागि सूर्यकुमारले अविजित १०३ रनको योगदान गरे, इशान किशन ३१, कप्तान रोहित शर्मा २९, विष्णु विनोदले ३० रन बनाए ।

गुजरातका राशिद खान एक्लैले चार र मोहित शर्माले एक विकेट लिए ।

२१९ रनको लक्ष्य पछ्याएको गुजरातले खराब सुरुआत हुँदा पराजित भयो । गुजरातका ऋद्धिमान साह २, शुभमन गिल ६ र कप्तान हार्दिक पाण्ड्या ४ रनमै आउट भए ।

यस्तै विजय शंकरले  २९ र डेभिड मिलरले ४१ रन बनाए । फराकिलो अन्तरले पछि रहेको गुजरातका लागि राशिद खानले आशा जगाए । तर, जित सम्भव भएन । राशिदले ३२ बलमै ७९ बनाए ।

मुम्बइसँग पराजित भए पनि गुजरात शीर्ष स्थानमै छ ।