आवश्यकता पहिचान गरि शिक्षामा लगानी गरिनुपर्छः सरोकारवाला

आवश्यकता पहिचान गरि शिक्षामा लगानी गरिनुपर्छः सरोकारवाला

धनगढी । शिक्षा क्षेत्रको सुधारका लागि आवश्यकता पहिचान गरेर मात्र योजना निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरुको सुझाव रहेको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियानको आयोजनामा धनगढीमा आयोजित ‘शिक्षामा बजेट वृद्धि र उपयोग कसरी ?’ विषयक छलफल कार्यक्रममा सहभागि सरोकारवालाहरुले शिक्षामा बजेट बृद्धिमात्र गरेर नहुने त्यसको उपयोग सहि क्षेत्रमा हुनुपर्ने सुझाव दिएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता प्रकाश बमले शिक्षामा लगानी गरेरमात्र सुधार नहुने बताउँदै ‘लगानीको सदुपयोग हुने गरि काम गर्न आवश्यक रहेको छ ।’ उनले प्रदेशको आयस्रोतका आधारमा शिक्षामा लगानी भइरहेको बताए ।

उनले भने –‘क्षमता अनुसारको शिक्षा क्षेत्रमा लगानी हुनुपर्छ । शिक्षामा लगानी बृद्धि गर्दा अन्य क्षेत्रमा भइरहेको लगानी कटौति गर्नुपर्ने अवस्था हुन्छ । यसकारण शिक्षामा मात्र आर्थिक वृद्धि गर्न गाह्रो छ ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा एमालेका नेता धर्मराज पाठकले शिक्षामा लगानी बृद्धि गर्नुभन्दा योजनाको प्राथमिकरण गर्न जरुरी रहेको बताए । उनले भने –‘शिक्षामा प्राथमिकताका आधार नबन्दा आसेपासे, पहुँचवाला, आफना–आफन्त हरेर योजना विनियोजन भइरहेको छ । यसकारण शिक्षामा लगानीमात्रले गुणस्तर कायम हुँदैन् ।’ 

प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता रमेशबहादुर धामीले पहुँचका आधारमा आवश्यकता नभएको ठाउँमा बजेट माग्ने व्यक्तिलाई समाजले पहिचान गर्न जरुरी रहेको बताए । उनले भने –‘शिक्षामा भइरहेको अनावश्यक तथा अनाधकृत योजनाहरु नियन्त्रण गरिनुपर्छ । यसका लागि विद्यालय व्यवस्थापन समिति, प्राध्यापक, शिक्षक, अभिभावक सबै जिम्मेवार हुनुपर्छ ।’ उनले संविधानले निशूल्क शिक्षा भने पनि व्यवहारमा लागु हुन नसक्नु समस्या रहेको बताए । 

अभियानका अध्यक्ष हेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह, अभियानका सदस्य टेकराज अवस्थी, शिक्षा क्षेत्रका सरोकारवाला डिल्लराज ओझा, धनपती ढुङ्गेल, केशव भट्ट, धर्मराज जोशी लगायतले सामुदायिक विद्यालयप्रति अभिभावकको घट्दै गएको आकर्षणमा सुधार ल्याउन प्रदेश सरकारले विशेष नीति ल्याउनुपर्ने, संघिय सरकारले शिक्षा ऐन यथाशिघ्र ल्याउनुपर्ने लगायतका सुझाव दिएका थिए ।

फाया नेपालका शेरबहादुर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा शिक्षाविद डाक्टर राजेन्द्र चन्दले शिक्षामा सरकारको लगानी, उपलब्धी, आगामी रणनीति लगायतका बारेमा प्रस्तुतिकरण गरेका थिए ।