भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव

भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव

भरतपुर । भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।
 
कारागारमा हाल ४९ महिला  चार नाबालकरनाबालिकासहित सात सय ५८  कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन् । उनीहरूलाई नियमित औषधि खुवाउनुपर्ने हुन्छ । 

यसका अतिरिक्त समय–समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नुपर्ने हुन्छ । उनका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि  १२ लाखमात्रै बजेट पठाएको छ । अघिल्लो वर्ष २५ लाख पठाएको थियो । यसभन्दा अघिल्लो वर्ष  ४८ लाख पठाएको जनाउँदै उनले कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताए ।
 
औषधिको चरम अभाव भएपछि १५ लाख माग गरेकामा एक लाखमात्रै प्राप्त भएको कारागार प्रमुख आचार्यले जानकारी दिए । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधि जुटाएको छ । 

दैनिक औषधिको व्यवस्थापनमा जटिलता हुँदै आएको छ । उनले भने, ुकिन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौँ ।ु नियमित औषधिसमेत अभाव भएको जनाउँदै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुने उनले बताए । 

कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरूले आफैँले औषधि किनेर खान थालेका छन् । विपन्नलाई औषधि खान समस्या परेको छ । कारागार प्रमुख आचार्यले भने, ुसत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।ु