‘ज्यान भन्दा महँगो यार्सागुम्बा’

‘ज्यान भन्दा महँगो यार्सागुम्बा’

धनगढी । यार्सागुम्बामा वनस्पति र जीव दुवै हुन्छ । जो कहिल्यै पनि मर्दैन त्यो नै हो यार्सागुम्बा । समुद्र सतहबाट करिब ३८ सय मिटरदेखि ४८ सय मिटर सम्मको उचाइमा यो पाइन्छ । हिमाली क्षेत्रमा पाइने (जडिबुडी) यार्सा दार्चुलाको एक मात्र ठाउँमा पाइन्छ त्यो हो बाँस । ब्यासका यार्सा पाइने पाटनहरु पछिल्लो समय यार्सा खोज्न जाने मानिसहरुका लागि काल बन्न थालेका छन् । 

जिल्लाको बाँस गाउँपालिका भित्रका यार्सागुम्बा पाटनहरुमा १५ दिनमै चार घटना घटेका छन् । वैशाखदेखि हाल सम्म सात जनाले ज्यान गमाएका छन् । बुधवार दिउँसो १ बजे बाँस गाउँपालिकाको यार्सागुम्बा पाइने बन स्याङ्पा पाटनमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा दुहु गाउँपालिका वडा नम्बर ५ पासुका १४ वार्षिक बालक पारस महरा रहेको मृतकका आफन्त जनक महराले बताए । यता जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महराको मृत्यु भएको हो ।

मृतक महरा धारीपाटा माध्यमिक विद्यालय धारीमा कक्षा ८ मा अध्ययनरत थिए ।

गत शनिवार राति हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना संकलक घाइते भएका थिए ।

चट्याङ लागेर दुहुँ गाउँपालिका– २ हिकिलाका १८ वर्षीय महेश बडाल,  सोही गाउँपालिका– १ पिपलचौरी बस्पालीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए ।

घाइते भएका तीन जनाको हेलिकप्टर मार्फत उद्धार गरी उनीहरुको उपचार भइरहेको छ । 

वैशाख १९ गते मंगलबार बाँस गाउँपालिका १ भोलुममा हिम पहिरो गएको थियो । उक्त हिमपहिरोमा जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापा, डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको मृत्यु भएको थियो । 

सो घटनामा ७ जनाले भागेर ज्यान जोगाएका थिए । 

बिहीबार मात्रै बाँस गाउँपालिका १ छाङरुका ४२ वर्षीय वीरसिंह अइतवालको कुन्ती भन्ने स्थानमा यार्सा संकलनका क्रममा मृत्यु भएको हो ।

उक्लिएका ३ जना घाइते भए । ७ जनाले भागेर ज्यान जोगाए तर ६ जनाले ज्यानै गुमाए । 

उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य नै सुनभन्दा महँगो छ । त्यस कारण मानिसहरु यसलाई पाउन आफ्नो ज्यानै थाति राखेर जोखिम ठाउँमा गएर पनि संकलन गर्ने गर्छन् । 

यार्सागुम्बा भेटिने मौसममा त समुन्द्री सतहबाट हजारौँ मिटर माथिको गाँउहरु नै रित्ता हुने गर्दछन् । विद्यालय बन्द देखि हातपात चल्ने सबै जना यस यार्साको खोजीमा निस्कने गर्दछन् ।

बर्षायाम सुरु हुँदा नहुँदै खासगरी जिल्लाको महाकाली नगरपालिका, मार्मा गाउँपालिका, बाँस गाउँपालिका, अपि हिमाल गाउँपालिका लगायत छिमेकी जिल्ला बैतडी लगायत सुदूर पहाडका मानिसहरु पनि यार्सा टिप्न दार्चुलाको बाँस जाने गर्दछन् । 

बिशेष्त दार्चुलाको केही ठाउँका मानिसहरू एक÷दुई महिनाकै लागि घरमा ताल्चा लगाएरै यार्सागुम्बाको खोजीमा जान्छन् । 

यार्सागुम्बा संकलनका लागि विद्यालय नै बन्द 

जिल्लमा यार्सागुम्बा संकलनका लागि विद्यालय नै बन्द हुने गरेका छन् । त्यहाँका मानीसलाई यो कुरा भने नौलो होइन । उनीहरुलाई यस सिजनमा जुनसकै स्थितिमा पनि त्यहाँ पुग्नुपर्ने नियति नै छ । यसरी मानौँ भने उनीहरुको सिजनको रोजगारी नै हो । यार्सा खोजिका लागि ओढ्ने, ओच्छ्याउने अनि खाने रासन सम्पूर्ण बन्दोबस्तका सामानहरु लिएर जोखिम मोल्दै हिमालतिर उनीहरू जाने गरेका छन् ।

दार्चुलाको अपि हिमाल गाउँपालिका भरीका सम्पूर्ण विद्यालयहरू २० दिनका लागि बन्द गरिएका छन् । पालिकाको निर्णय अनुसार गाउँपालिका भरिका सम्पूर्ण बिद्याालयहरुलाई बिदा दिइएको गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र साउँदले जानकारी दिए । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर गएपछि विद्यालय बन्द गरिएका हुन् । 

यस्तै, बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय एक महिनासम्मका लागि बन्द भएका छन् । बन्द गरिएका विद्यालयका विद्यार्थी बेँसी झरेपछि असार १ गतेतिर मात्र खुल्ने बताएका छन् । 

यार्सागुम्बा के हो ?

यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रित भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना वनस्पति भएर रहन्छ । त्यसरी  हेर्दा वनस्पति जीवित रहे प्राणी मर्ने र प्राणी जीवित रहे वनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बिउहरू फैलिरहन्छन् ।

यार्सागुम्बा कत्तिको महत्त्वपूर्ण छ ? 

नेपालमै पाइने तीन प्रकारका यार्सागुम्बा सबै प्रयोग योग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनै वटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो ।

संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिने भएकाले यार्सागुम्बा निकै महत्त्वपूर्ण मानिन्छ ।