आईपीएलः आज मुम्बई र लखनउ भिड्दै

आईपीएलः आज मुम्बई र लखनउ भिड्दै


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सको सामना गर्दैछ । मुम्बई र लखनउबीचको एलिमिनेटर खेल चेन्नईमा नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

लिग चरणमा लखनउ तेस्रो तथा मुम्बई चौँथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । आज हुने लखनउ र मुम्बईबीचको खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सको सामना गर्नेछ ।

मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा भने चेन्नई सुपर किंग्सले गुजरातलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

चेन्नईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनमात्र जोड्न सक्यो । गुजरातका लागि शुभमन गिलले सर्वाधिक ४२ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन जोड्यो । चेन्नईका लागि रुतुराज गाइक्वाडले सर्वाधिक ६० रनको योगदान गरे ।