प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

काठमाडौँ  । तेस्रोपटक सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पहिलोपटक विदेश भ्रमण गर्दैछन् । उनले विदेश भ्रमणको सुरुवात भारतबाट गर्न लागेका हुन् ।  

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्न लागेका  उनको सचिवालयले जनाएको छ । 

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरू पाँचजना मन्त्री पनि सहभागी छन् । टोलीमा परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र उद्योगमन्त्री रमेश रिजाललगायत रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली यही २० जेठमा स्वदेश फर्किने कार्यक्रम छ । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार भारत भ्रमणमा दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी र कृषिमा सहयोगलगायत विषयमा सम्झौता र सहकार्यका लागि गृहकार्य भएको छ । 

‘विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउने, बंगलादेशसँग पनि विद्युत् व्यापार गर्ने आधार यस भ्रमणमा तयार गर्नेछौँ,’ मन्त्री साउदले भने ।

भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायतका विषयमा पनि टुंगोमा पुग्न प्रयास गरिने मन्त्री साउदले जानकारी दिए । 

प्रधानमन्त्री दाहाल शनिबार ४ बजेर २० मिनेटमा नेपाल एयरलाइन्सको विमानबाट काठमाडौंका फर्कने भ्रमण तालिका छ ।