न्युयोर्कमा नेपालीहरुको आफ्नै भवनमा स्थापना भयो नेपाली मन्दिर

न्युयोर्कमा नेपालीहरुको आफ्नै भवनमा स्थापना भयो नेपाली मन्दिर

काठमाण्डौं । न्युयोर्क, अमेरिकार अथक प्रयास र लामो प्रतिक्षा पश्चात न्युयोर्कका नेपालीहरुले आफ्नै भवनमा नेपाली मन्दिर स्थापना गर्न सफल भएका छन । रिजउड नेपाली समाजको अगुवाईमा ‘दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र’ का लागि आफ्नै भवन गत मे २३ तारिखका दिन खरिद गरेको हो।

शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष राजेश भट्टले क्विन्सको रिजउडमा अवस्थित उक्त भवनमा मन्दिर कक्ष, हल, ४ वटा अपार्टमेन्ट र तीन वटा अफिस स्पेश रहेको जानकारी दिए । उक्त भवन १९ लाख ९० हजार अमेरिकी डलरमा खरिद गरिएको जनाइएको छ।

कुल रकममा संस्थाका केहि सदस्यहरुले ‘पर्सनल ग्यारेन्टी’ बसी नौ लाख ९० हजार अमेरिकी डलर ऋण लिएको बताइएको छ।

यसअघि सन् २०१० र २०१७ मा दुई महापुराण लगाएर मन्दिर स्थापनका लागि विभिन्न संस्था र व्यक्तिहरुले २२ लाख ४७ हजार ६ सय २७ डलर रकम दिने प्रतिबद्धता दिएका थिए । अहिलेसम्म लगभग नौ लाख ९९ हजार दुई सय २१ डलर पचास सेन्ट उठिसकेको छ।

संस्थाका अनुसार १२ लाख ५७ हजार १४ डलर ८२ सेन्ट रकम उठ्न बाँकी छ।

‘हामीलाई विश्वास छ हाम्रा साथीहरुले कबुल गरेको रकम चाँडै नै उपलब्ध गराउनु हुनेछ,’ अध्यक्ष राजेश भट्टले भने । त्यो रकम आएमा मन्दिरको व्यवस्थापन, भवनको पुर्ननिमाण लगायत धेरै कुरामा सहज हुनेछ।’

कार्यक्रममा अधिकांश वक्ताहरुले सबै संस्थाका पदाधिकारी तथा अन्यलाई कबुलेको रकम दिएर मन्दिर व्यवस्थापनमा सघाउन आह्वान गरेका थिए ।

‘यो अब रिजउड नेप्लिज सोसाइटीको मात्र मन्दिर रहेन, अब यो सारा नेपालीको मन्दिर हो, ’ एक वक्ताले भने । ‘हामी सबैले यसलाई साथ दिनुपर्छ ।’

कार्यक्रममा मुख्य अतिथि न्युयोर्क कन्सुलेट अफिसका कन्सुलर गणेश अधिकारीले मन्दिरलाई आफ्नै भवनमा ल्याउन सफल भएकोमा सबैलाई बधाई दिएका थिए।

संस्थाले गत जनवरी देखि हल भाडामा दिएर विभिन्न कार्यक्रम, पुजाआजा तथा बालबालिकाहरुकमा लागि हरेक आइतबार नेपाली भाषाको पढाई र नृत्य कक्षाहरु संचालन गरिरहेको छ ।