शिक्षक माग्दै सारदा माबिमा विद्यार्थीको प्रदर्शन

शिक्षक माग्दै सारदा माबिमा विद्यार्थीको प्रदर्शन

चरिकोट । दोलखाको बिगु गाउँपालिका ३ बुलुङमा रहेको सारदा माबिका विद्यार्थीले शिक्षक माग गर्दै प्रदर्शन गरेका छन् ।

लामो समयदेखि विषयगत शिक्षक उपलब्ध नभएकाले पठन पाठन अवरुद्ध भएको भन्दै विद्यार्थी आक्रोशित छन् ।

प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काबीचको द्वन्द्वका कारण शिक्षकको पदपूर्ति हुन नसकेको विद्यार्थी तथा अभिभावकको आरोप छ ।

२०० हाराहारीमा विद्यार्थी अध्ययनरत रहेको यो विद्यालयमा ४ जना शिक्षकको दरबन्दी खाली रहेको प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरीले बताए ।

‘प्रमुख विषयकै शिक्षकको अभाव भएकाले पठनपाठन प्रभावित भएको छ,’ उनले भने, ‘पदपूर्तिको प्रक्रिया अघि बढाउन भन्दा विद्यालय व्यवस्थापन समितिले चासो दिएको छैन, त्यसैले समस्या भएको छ ।’

प्रदर्शनमा उत्रिएका विद्यार्थीले विषयगत शिक्षकको पदपूर्ति गरी पठनपाठन र परीक्षाहरु नियमित गर्न माग गरेका छन् ।