सामाजिक विकास मन्त्रालयको निशुल्क बितरण गर्नुपर्ने औषधी खरीदको टेण्डर दोस्रो पटक रद्ध

सामाजिक विकास मन्त्रालयको निशुल्क बितरण गर्नुपर्ने औषधी खरीदको टेण्डर दोस्रो पटक रद्ध

धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्र निशुल्क बितरण गर्ने औषधी आपुर्तिका लागि गरेको टेण्डर दोस्रो पटक रद्ध भएको छ । मन्त्रालयका कर्मचारीको मिलेमतोमा औषधी आपुर्तिका गलत तरिकाले टेण्डर गर्दा कुनै पनि आपुर्तिकर्ता प्राविधिक रुपमा औषधी आपुर्तिका लागि योग्य नदेखिएपछि दोस्रो पटक टेण्डर रद्ध गरिएको हो ।

मन्त्रालयले निशुल्क रुपमा बितरण गर्नुपर्ने औषधी खरीदका लागि २ करोड ४० लाख बराबरको टेण्डर आह्वान गरेको थियो । पहिलोपटक मन्त्रालयले खोजेका आधिकारिक पत्र कुनै पनि आपुर्तिकर्ताले उपलब्ध गराउन नसकेको कारण देखाइ रद्ध गरिएको टेण्डर दोस्रो पटक पनि सोही कारण देखाई रद्ध गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत कृष्ण बहादुर धामीले दोस्रो पटक टेण्डर रद्ध भएको जानकारी दिँदै छिट्टै तेस्रो पटक टेण्डर आह्वान गर्ने तयारी भइरहेको बताउनुभयो । दुई पटकको टेण्डरमा एकै आपुर्तिकर्तालाई मात्र सहज हुने गरी कागजपत्र मागिएको अन्य आपुर्तिकर्ताहरुले आरोप लगाउँदै आएका छन् ।

एक सय ७१ प्रकारका औषधी र सर्जिकल सामान आपुर्ति गर्न आह्वान गरिएको टेण्डरमा खोजिएको कागजपत्र अनुसार भारतीय औषधी उत्पादक कम्पनीका दुईवटा उत्पादनहरुको नेपालमा आधिकारिक बिक्री बितरणको अनुमतिपत्र औषधी ब्यवस्था बिभागले नदिएका कारण ती दुई पटक टेण्डर स्थगित गरिएको हो ।

जीनव रक्षक औषधीका रुपमा रहेको एड्रिनालिन र दमको औषधी एमिनोफाइल नेपालमा बिक्री बितरण गर्न आधिकारिक अनुमतिपत्र नेपालका औषधी बिक्रेताहरुसित छैन् । मन्त्रालयले ती दुई औषधी हटाई बाँकी औषधी मात्रै आपुर्ति गर्ने गरी नया टेण्डर आह्वान गर्ने तयारी गरेको मन्त्रालयको स्वास्थ्य शाखाका निमित्त प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनुभयो । मन्त्रालयको यो टेण्डर निकै विवादित समेत बनेको छ ।

औषधी खरीद समितिले प्याकेजमा टेण्डर आह्वान गरी धनगढीको डि.बी. मेडिसिन सेन्टर लाई मात्रै टेण्डर पर्ने गरी काम गरिरहेको आारोप लागेको छ । खरीद समितिमा रहेका लेखा अधिकृत कृष्ण बहादुर धामीले टेण्डर दोस्रो पटक रद्ध हुनु पूर्व डि.बी. मेडिसिनका सञ्चालकलाई टेलिफोन गरेर टेण्डर रद्ध हुन लागेको र नया सूचना जारी गर्दा डि.बी. मेडिसिन सेन्टरले आधिकारिक अनुमति पत्र ल्याउन नसक्ने औषधी मात्रै टेण्डरबाट हटाइने जानकारी दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

डि.बी. मेडिसिन सेन्टर सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थामाहरुमा एकलौटी औषधी आुपर्ति गर्ने आपुर्तिकर्ता हो । उसले टेण्डर पाएका कुनै पनि संस्थामा समयमा औषधी उपलब्ध हुदैन ।

सेती अस्पतालमा रहेको फार्मेसीमा डि.बी. मेडिसिन र यसैको ब्यवस्थापनबाट चल्ने अर्को आपुर्तिकर्ता ड्रग सेन्टरबाट आपुर्ति हुने औषधी नियमित उपलब्ध हुँदैन् । डि.बी मेडिसिनले बैतडीको दशरथ चन्द नगरपालिकाकको स्वास्थ्य शाखालाई उपलब्ध गराउनुर्ने औषधी आर्थक बर्ष कन लाग्दा समेत नदिएको त्यहाँका एक कर्मचारीले जानकारी दिनुभयो ।