निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुरमा २१ राउण्ड अश्रु ग्यास प्रहार, दुई प्रहरी घाईते

निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुरमा २१ राउण्ड अश्रु ग्यास प्रहार, दुई प्रहरी घाईते

धनगढीः तेह्र वर्षीया निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै आक्रोसित स्थानीयवासी र प्रहरीबीच झडप हुँदा दुईजना प्रहरी घाईते भएका छन्। स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदशन गरिरहेका बेला झडप हुदाँ दुईजना प्रहरी घाइते भएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेटीले बताए।

उनले झडपलाई नियन्त्रणमा लिन दुइ पटकमा २१ वटा भन्दा बढी अश्रु ग्यास प्रहार गरिएको बताए। पन्तको वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको आरोप लगाउदै स्थानीयवासी आन्दोलित हुदाँ मंगलबार विहान देखि कञ्चनपुर तनाब ग्रस्त बनेको छ। स्थानियबासी, व्यापारी, विभिन्न संघसस्थाका व्यक्ति, विद्यार्थिहरु हत्याराको सत्थतथ्य छानविन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका छन्। 

गत साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो।
विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको आरोप लगाउदै स्थानीयवासी आक्रोसित बनेका छन्।