नगढी : प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गरि प्रतिवेदन पेश गर्नका लागि गठन गरिएको विशेष समितिले मंगलवार प्रतिवेदन बुझाएको छ ।
साउन १४ गते एक हप्ताको समय दिईएको समितिले २२ दिनपछि सभामुख अर्जुन बहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझाउदै समितिका सयोजक तारालामा तामाङले समितिले बुझाएको प्रतिवेदन सर्वसम्मत हुने दावी गरे ।
‘समितिले सर्वसम्मत प्रदेशको नाम र राजधानी तोक्न पेश गरेको छ ।’ तामाङले भने, ‘प्रदेश सभा बैठकले पनि सर्वसम्मत पास गर्छ भन्ने अपेक्षा छ ।’
उनले सो क्रममा सरोकारवाला सवै पक्षसग छलफल गरिएको र देश बाहिर रहेका कारण दुई जना प्रदेश सभा सदस्य र केही प्रदेश ७ का प्रतिनिधि सभाका सदस्यसग छलफल गर्न नसकिएको जानकारी दिए ।
प्रतिवेदन बुझ्दै सभामुख अर्जुन बहादुर थापाले चाडै प्रदेश सभा बैठकमा पेश गरिने जानकारी दिए ।
साउन १४ गतेको प्रदेश सभा बैठकले नेकपाका प्रमुख सचेतक तारालामा तामाङको सयोजकत्वमा गठन गरेको पाँच सदस्यीय विशेष समितिमा श्याम लाल राना, बल देव भट्ट, चुनकुमारी चौधरी र प्रेम प्रकाश भट्ट सदस्य रहेका थिए ।