सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयनको तयारी

सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयनको तयारी

काठमाडौं । सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने तयारी गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन गर्ने परिपाटीलाई परिवर्तन गरी खुल्ला प्रतिस्पर्धा अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारको योजना छ ।

भक्तपुरको सूर्य विनायक नगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३० वटा सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरी कार्यान्वयनमा ल्याइसकेको छ । खस्किँदै गएको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेपछि शिक्षा मन्त्रालयले यही विधिलाई देशभर लागू गर्न खोजेको हो ।

शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाई ले प्रधानाध्यापक चयन गर्ने व्यवस्था छ । सरकारले यसलाई संशोधन गर्दै छुट्टै कार्यविधि बनाई स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने योजना बनाएको छ ।

प्रधानाध्यापकका लागि योग्यता, अनुभव, तालिम, विद्यालय विकास प्रस्ताव लगायतलाई आधार मानेर कार्यविधि बनाई कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ ।